Shittalpati
भुसलडाँडा टोल विकास संस्थाको अधिवेशन, अध्यक्षमा पुनः सापकोटा

पाल्पा, भुसालडाँडा टोलविकास संस्थाको साधारणसभा तथा अधिवेशन भएको छ । तानसेन नगरपालिका –१ मा गठित टोलविकास संस्थाको सातौं साधारण सभा तथा अधिवेशन भएको हो ।  

अधिवेशनले जयराम सापकोटालाई पुनःअध्यक्षमा चयन गरेको छ । यस अघि संस्थाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण सापकोटोलाई संस्थाले पुनः अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा वेद प्रसाद न्यौपाने, सचिवमा केशवराज पौडेल, कोषाध्यक्षमा कुलबहादुर पौडेल, सह सचिवमा यमकला भण्डारी रहेका छन् । यस्तै संस्थाको सदस्यहरुमा काशिराम भुसाल, हेमा पाण्डे, इन्दु खड्का र थिरादेवी न्यौपाने चयन भएको टोलविकास संस्थाले जनाएको छ । संस्थाको सल्लाहकारमा नन्दलाल भुसाल, खडानन्द न्यौपाने र पेउनारायण पाण्डे रहेका छन् ।

अध्यक्षमा पुनः चयन भएका सापकोटाले टोलमा रहेका आमाबुवा दाजुभाइहरुलाई एकत्रित गरी नमूना टोलको रुपमा चिनाउने गरी काम गर्ने बताएका छन् । उनले टोलमा एक अर्कोलाई परेको दुख, सुखमा संस्था सधैव रहने भन्दै संस्थामा गोलवद्ध भएर अगाडि बढ्न सबैलाई आग्रह समेत गरे ।  

 अधिवेशनको तानसेन नगरपालिका– १ का वडाध्यक्ष सुनिल कुमार बस्यालले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै अध्यक्ष बस्यालले टोलका हरेक गतिविधिहरुमा वडा कार्यालयले सहकार्य गर्ने बताए । कार्यक्रममा तानसेन नगरपालिकाका सामाजिक शाखा अधिकृत भरत आचार्य, टोल विकास संस्थाका पूर्व अध्यक्ष खडानन्द न्यौपाने, वडास्तरीय टोल समन्वय समिति की सह–सचिव सिर्जना खड्क, संस्था उपाध्यक्ष नन्दलाल भुसाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा संस्थाले सस्थापक अध्यक्षहरु दुर्गादेवी बराल, लिलादेवी न्यौपाने, खडानन्द न्यौपाने र वडाका जेष्ठ नागरिक गुरुदत्त भट्टराईलाई सम्मान समेत गरेको थियो । संस्थाको  ३ लाख  ५५ हजार ५ सय ७० को आयव्यय प्रस्तुुत गरिएको थियो । सचिव केशवराज पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update