Shittalpati
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भएका छन् । पालिकाले आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम अनुसार यहाँका दुई स्थानमा अहिले स्वास्थ्य इकाई स्थापना भएका हुन् । 

यहाँका वडा ७ रहवासको मटेरी टोल र वडा ८ बहादुरपुरको ताकातुङ्ग टोलमा सामुदायिक स्वास्थ्य इकाईको औपचारिक रुपमा उद्घाटन गरिएको छ । हरेक नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य इकाई स्थापना गरिएको पालिकाले जनाएको छ । इकाईको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष चिदीले स्वास्थ्य जस्तो संवेदशीनल विषयमा सबै नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले इकाई स्थापना गरेको बताए । उनले गाउँपालिका भित्रका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिनबाट बञ्चित हुन नपरोस् भनेर नै पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । गाउँपालिकाका उपाध्यक्ष बिष्णु मायाँ लुङ्चेले आफुहरु जनताको जनस्वास्थ्य प्रति निकै सचेत रहेकाले गाउँपालिकाको सबै जसो अपायक टोलहरुमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने आफूहरुको लक्ष्य रहको बताइन् । उनले आफू स्वास्थ्यकर्मी रहेको अवस्थामा यस्ता भौगोलिक कठिनाइले गर्दा कतिपय नागरिक स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित हुनुपरेको वास्तविकताबारे बताउदै अब यहाँका सबै खाले नागरिकले निःशुल्क स्वास्थ्य सेवा सुविधा पाउने धारणा व्यक्त गरिन् । स्वास्थ्य शाखाका संयोजक केशवबहादुर जिसीले सार्वजनिक विदाका दिन बाहेक अन्य दिन निरन्तर स्वास्थ्य सेवा दिने बताए । कार्यक्रममा ७ का वडा अध्यक्ष जंगबहादुर दर्लामी, जग्गादाता हेम बहादुर सार्की, महेन्द्र नरेश माविका प्र.अ. छविन्द्रलाल विक., किरण केसी, फनि कुमारी थापा, वडा सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए । ७ का वडा अध्यक्ष ज·बहादुर दर्लामीको अध्यक्षता, रहवास स्वास्थ चौकीका प्रमुख भिमबहादुर रानाको स्वागतमा कार्यक्रम भएको थियो ।  
 –गजेन्द्र पन्थीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update