Shittalpati
सत्यवती जिप दुर्घटना : एकै ठाउँका पाँचको मृत्युले शोकमा डुब्यो गाउँ

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्युु हुनेको संख्या ५ पुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनास्थलमा ३ जना र उपचारका क्रममा २ जनाको मृत्यु भएको हो । मृतक पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका –१ पणेनाकी ५५ बर्षीया बुकुन्ति (श्यामकला) परियार, वडा नंं २ पोखराथोकका २६ बर्षीय चालक रमेश विक, सोही स्थानकै २५ बर्षीया सिता गौतम, सोही ठाउँकै २ बर्षीय संयोग गौतम र वडा नं १ का ४४ वर्षीय विजय (कृष्ण) पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए । संयोग र विजयको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

मृतक सबै एकै ठाउँका हुन् । दुर्घटनामा परी एकै ठाउँका ५ जनाको मृत्यु भएपछि गाउँ नै शोकाकुल बनेको छ । बालकसहित गाउँका होनहार व्यक्तिहरुको दुर्घटनामा मृत्यु भएपछि पाणिनी गाउँपालिकाको पोखराथोक र पणेनामा सान्नटा छाएको पोखराथोकका वडा अध्यक्ष चन्द्रकान्त पौडेलले बताए । उनले भने, ‘एकै ठाउँका ५ जनाको दुःखद् निधनले पोखराथोकसँगै पणेना शोकमग्न भएको छ ।’ मृतक सीता गौतम शनिबार शिक्षक सेवा आयोगले लिए प्राविको परीक्षा दिन बुटवल गएकी थिइन् । परीक्षा दिई बुटवलबाट दुुई छोरालाई सँगै लिएर घरफर्किने क्रममा उनी दुर्घटनामा परेको वडा अध्यक्ष पौडेलले बताए । दुर्घटनामा उनीसँगै कान्छा छोरा २ बर्षीय संयोग गौतमको मृत्यु भएको हो भने जेठा छोरा घाइते छन् । मृतक विजय पोखरेल वडा सदस्य हुन् ।  बुटवल गएर घर फर्कन जिप चढेका उनीहरु कहिले नफर्कने गरी बिलाएपछि गाउँ नै शोकमग्न भएको वडा अध्यक्ष पौडेलले बताए । उनले भने, ‘वाडावासी गुमाउँदा निकै पीडा महशुस भएको छ ।’ यस्तै दुर्घटनामा परी १० जना घाईते भएका छन् । घाइते हुनेमा पाणीनी गाउँपालिका –१ पणेनाका ६६ वर्षीय रामबहादुर विक, सोही ठाउँकै ५ वर्षीया पार्वती पोखरेल, सोही ठाउँका १० वर्षिय सोलिन परियार, वडा नंं २ पोखराथोकका ६ वर्षीय संयोग गौतम, गुल्मीको रुरु क्षेत्र गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली रहेका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भईरहेको छ । 

यस्तै अर्घाखाँची पाणेनी गाउँपालिका–१ पणेनीकाका ४० वर्षीय विजय हरी गौतमको बुटवलको चौराहा अस्पतालमा उपचार भईरहेको छ । यसैगरी अर्घाखाँची छत्रदेव गाउँपालिका –४ धरम्पानीका ७ वर्षीय समिर पाण्डे, सोही ठाउँकै १० वर्षीय अनुुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका –३ दोभानकी ३४ वर्षीया लक्ष्मी पोखरेल, निजकी ५ वर्षीया छोरी आर्या भण्डारी रहेका छन् । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । जिप सडकबाट करीव ७० मिटर तल खसेकोे छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update