Shittalpati
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा

रेसुङ्गा, गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पु¥याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ । सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गरेका छन् । ‘मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो’, उनले भने, ‘कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।’ उनले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गरेका छन् । सोही ठाउँकी दमन्ता अर्यालले पनि मकै र कोदो मात्रै खेती हुने ठाउँमा अहिले कफी खेती गरेकी छन् । ‘छोराछोरी अध्ययनको लागि सहर छिरेपछि श्रीमान् श्रीमतीले मात्रै मकै र कोदोको खेती जोगाउन सकेनौँ’, उनले भनिन्, ‘कफी खेती सुरु गरेपछि दैनिक हेरचाह गरेमात्र पुग्छ ।’ अहिले सबै खेतबारीमा कफीका बिरुवा रोपेको उनले बताइन् । 

   मेघराज अर्यालले परम्परागत खेतीभन्दा कफी खेती निकै सहज भएको बताए । ‘कफीबाट आर्थिक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ’, उनले भने, ‘हामीले मकै, कोदो र गहुँ खेती छाडेर कफी खेतीमा लाग्यौँ ।’ आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषि भन्दा आधुनिक कृषि बढी लाभदायी हुने उनको भनाइ थियो । सिर्सेनीका ४५ किसान अहिले कफी खेतीमा आवद्ध छन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ । किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताए ।

 उनका अनुसार उक्त परियोजनान्तर्गत सिर्सेनी प्राङ्गारिक कफी कृषि पाठशाला १५ हप्तासम्म कफी पाठशाला कार्यक्रम सञ्चालन गरेर प्रशिक्षण प्रदान गरिएको थियो । परियोजना प्रमुख गंगाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताइन् । ‘कफी खेतीसम्बन्धी जानकारी दिनुका साथै आधुनिकताका बारेमा सचेतना गराएका छौँ’, उनले भने, “कफीमा पछिल्लो समय किसानको आकर्षण बढ्दो छ ।” गुल्मीस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले ग्रामीण भेगमा कफी किसान उत्पादनमा अग्रसर भएको बताए । “कफीको उत्पादनमा मात्रै समस्या हो, बजारीकरणको समस्या छैन”, उनले भने, “सिर्सेनीका किसानको सक्रियताले कफीमा आशा जगाएको छ ।” प्रमुख भण्डारीले पाठशालामार्फत सिकेका कुरा कार्यान्वयन गर्नुपर्ने भन्दै यसबाट कफी खेतीलाई विस्तार गर्न सहयोग पुग्ने बताए ।  –रासस

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update