Shittalpati
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका–४, झडेवामा रहेका माथामालिका एकीकृत कृषि प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले भए गरेका गतिविधिहरुलाई एक औपचारिक कार्यक्रमका बिच आम नागरिक समक्ष सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रमलाई माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले सम्बोधन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले माथामालिकाले कृषिको क्षेत्रमा गरेका कामहरु प्रसंशनिय रहेको बताए । उनले निर्वाहमूखी कृषिबाट व्यवसायिक कृिष प्रणालीतर्फ अगाडि बढाउन पालिकाले विभिन्न कार्यक्रमहरु अगाडि सारेकाले कृषि फर्महरुले निर्धक्कका साथ काम गर्न आग्रह गरे । अध्यक्ष चिदीले भने ‘स्थानीय सरकारले कृषि कार्यक्रम मार्फत बेरोजगार युवाहरुलाई आयआर्जनतर्फ अग्रसर बनाउन विभिन्न क्षेत्रहरुमा अनुदानका कार्यक्रमहरु ल्याएको छ, हामी युवाहरुललाई गाउँमै कृषिमा जोड्न खोजिरहेका छौं ।’ गाउँपालिकाको उपाध्यक्ष विष्णुमाया लुङ्चेले कृषिमार्फत माथागढीमा आर्थिक क्रान्ति सम्भव रहेकाले यसलाई सबै पक्षले गम्भिरताका साथ लिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा १ का वडा अध्यक्ष राजकुमार पन्थी, गाउँपालिकाका कृषि शाखाका प्रमुख गौतम थापा, झडेवा स्वास्थ्य चौकीका प्रमुख लक्ष्मणबहादुर गाहा, कार्की कृषिका फर्मका सञ्चालक अर्जुन कार्की, नेपाली काँग्रेस झडेवाका प्रतिनिधि चन्द्रदेव पन्थी, नेकपा एमाले झडेवाका अध्यक्ष राजेश पन्थी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको प्रालिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले जवाफ दिएका थिए । कार्यक्रममा माथागढीमा कृषिको सम्भावनाहरु, यसका चुनौती, स्थानीय सरकाकारको कृषि सम्बन्धी नीति, योजना र कार्यक्रम, कृषकहरुका वर्तमान समस्याहरु, कृषि एम्बुलेन्सको ब्यवस्था लगायतका विषयमा जिज्ञासाहरु राखिएको थियो । माथामालिका एकीकृत कृषि फर्म प्रालि २०७७ सालमा स्थापना भएको हो । हाल यो कृषि प्रालिमा १८ जना शेयर सदस्यहरु रहेका छन् । प्रत्येक शेयर सदस्यहरुले जनही ४ लाख रुपैयाँ संकलन गरी कृषिर्फम सञ्चालन गरेको फर्मका अध्यक्ष जिसीले बताए । हाल यो कृषि फर्मले पूर्वाधार तयारी, भैसी खरिद तथा पालन, दुध वितरण तथा ढुवानी ब्यवस्थापन, घास ब्यवस्थापन, मल व्यवस्थापन, भकारो सुधार, वातावरण प्रभाव नियन्त्रण तथा न्यूनिकरण र दुग्धजन्य पदार्थ उत्पादन जस्ता क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्रबहादुर जिसीको अध्यक्षता, उप–आयोजना ब्यवस्थापक लक्ष्मणबहादुर जिसीको स्वागत, सचिव निरबहादुर सारुको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update