Shittalpati
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा

पाल्पा, बुटवल–पाल्पा बसन्तपुर केबलकार सञ्चालनमा आएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकारले आइतबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक रुपमा सेवा सञ्चालनमा आएको घोषणा गरेका थिए । आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक रुपमा सञ्चालनमा आए पनि जेठ २५ गते प्रधानमन्त्रीबाट औपचारिक रुपमा उद्घाटन हुने छ । बुटवलको वडा ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकारले यी दुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा छुट दिने घोषणासमेत गरेको छ । स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा २५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए । प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको र उक्त रकम दुवै पालिकाले ५० प्रतिशतका दरले बाँडफाँड गर्ने ढकालले बताए । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । एकवर्षभित्रै सञ्चालनमा ल्याउने घोषणासहित २०७७ साल फागुन १ गते शिलान्यास गरिएको केबुलकार कोरोना महामारीको असरलगायत कारणले ढिला गरी सञ्चालनमा आएको हो ।

केबुलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । यसैबीच केबुलकारको टप स्टेसन बसन्तपुर डाँडामा निर्माण गरिएको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरू भएको छ । केबुलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरू भएको हो । भारतको गुहावटीमा रहको कामाख्या मन्दिरकै शैली र कलामा बसन्तपुरमा पनि कामाख्या मन्दिर निर्माण गरिएको छ । मन्दिरमा सुरू भएको एकहप्ते पूजामा गुहावटीबाट आएका र नेपालका समेत ११ जना धार्मिक पण्डितहरूले पूजा सुरू गरेको प्रालिले जनाएको छ । मन्दिरमा जेठ १२ गतेदेखि सुरू भएको पूजा आराधना १८ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update