Shittalpati
खै लगानीको वातावरण ?

कुनै पनि मुलुकको आर्थिक विकासका लागि लगानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । आन्तरिक होस् वा बाह्य लगानीले मात्र मुलुकको विकास सम्भव छ । नेपालमा लगानीको वातावरण नबनेकै कारण मुुलुुकले आर्थिक गति लिन सकेको छैन । सरकारी अधिकारीहरू विदेशी लगानी नआउनुमा प्रत्येक वर्ष थरीथरीका बहाना मात्र बनाउँछन् । यथार्थ के हो ? समस्या केमा छ ? उच्च अधिकारीहरू धेरैलाई थाहा छ, तर काम गर्ने जाँगर कसैलाई पनि छैन । अहिले नेपालमा लगानी धेरै आउन नसक्नुमा विश्वका धेरै मुलुकमा देखिएको आर्थिक मन्दीलाई कारण मानिएको छ । तर, यो अर्धसत्य मात्र हो, सबै यथार्थ होइन । विदेशी लगानी थोरै आउनुमा हाम्रो सक्रियता र आवश्यक वातावरण नभएर नै हो । हामी लगानी भित्र्याउन सदैव कमजोर रहेका छौं । पुँजीगत बजेट दाताहरूको ऋण र सहयोगमा पूर्ण निर्भर भएको हाम्रो जस्तो मुलुकका लागि विदेशी लगानीको झनै बढी महत्व छ । ठूलो मात्रामा लगानी नल्याउँदासम्म मुलुकको आर्थिक विकास र उन्नतिको सपना पूरा नहुने प्रस्ट छ ।

लगानीकर्ता लुट्न मात्र आएका हुन् भन्ने मान्यताको विकास भइरहेको मुलुकमा लगानी आउन सक्दैन । अहिले यही भइरहेको छ । अन्य मुलुकका जनता र सरकार दुवैले लगानीकर्तालाई सम्मान गर्छन् । रातो कार्पेट बिछ्याएर स्वागत गर्छन् । हामीकहाँ भने उल्टो छ । विकसित मुलुकहरूमा एक दिनमा हुने कामलाई यहाँ महिनौं लगाइन्छ । सरकारको उपल्लो तहलाई यो थाहा नभएको होइन, तर कोही पनि बोल्दैनन् । सबैतिर मिलीभगत छ । सरकारले लगानीको वातावरण बनाउन विभिन्न कानुन तर्जुमा गर्ने भन्दै आए पनि अहिलेसम्म धेरै कानुन बन्न सकेको अवस्था छैन । कानुन अभावमा लगानीकर्तालाई सजिलै लगानी ल्याउन र फिर्ता लैजान सजिलो हुन सकेको छैन । लगानी फिर्ता लैजान कठिन छ भन्ने जान्दाजान्दै कोही पनि लगानीकर्ता जोखिम मोलेर आउँदैन । राजनीतिक नेता र सरकारले जेजस्तो भने पनि मुलुकमा उद्योग–व्यवसाय खोल्ने वातावरण छैन । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था÷कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न चाहान्छन् । तर नेपालमा लगानी गर्ने वातावरण नै  छैन । बेला–बेलामा लगानीकर्ताहरु सरकारको निर्णयप्रति आन्दोलित हुन बाध्य छन् । देशको आर्थिक विकासका लागि लगानी कर्तालाई धेरै भन्दा धेरै लगानी गर्न सक्ने वातावरण सिर्जना गरिनु पथ्यो तर सरकार र सत्तामा पुग्ने राजनीतिक दलहरुले नै उनीहरुलाई निरुत्साहित गराउने गरेका छन् । यो विडम्वनाको कुरा हो । यहाँ न बाहिरबाट आएर लगानी कर्ताहरु लगानी गर्न सक्छन् नत स्वदेशका लगानी कर्ताले नै । अनि कहाँबाट देशमा समृद्धि र विकास हुन्छ ? यस विषयमा सरकार र राजनीतिक दलले गम्भीर भएर सोच्न जरुरी छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update