Shittalpati
स्वास्थ्यको बजेट घट्यो, पर्यटनमा बढ्यो

पाल्पा, आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यतर्फ बजेट घटेको छ भने पर्यटन क्षेत्रमा बढेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिर्दै बजेट ल्याएको हो । संसद्को संयुक्त बैठकमा सोमबार अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको जनाएका छन् । यो बजेट गत वर्षभन्दा कम हो ।

अघिल्लो वर्ष सरकारले स्वास्थ्य मन्त्रालयलाई १ खर्ब ३ अर्ब १८ करोड बजेट छुट्याएको थियो । आर्थिक वर्ष २०७९/८० को बजेटमा संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको थियो । सरकारले पर्यटन क्षेत्रका लागि भने बजेट बढाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए । पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । पर्यटन क्षेत्रका लागि चालु आर्थिक वर्षमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि करिब अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । यस्तै सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलि· शुल्कमा सहुलियत दिने भएको छ । सरकारले वि. सं २०८० को दशकलाई पर्यटन दशकको रुपमा मनाउने पनि लक्ष्य लिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update