Shittalpati
गणतन्त्र दिवस मनाइँदै

पाल्पा, आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।  राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।

जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भएको हो ।

मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । तर, जनताको लामो संघर्ष र बलिदानपछि मुलुकमा गणतन्त्र घोषणा हुँदा/गर्दा जुन खालको उत्साह थियो, त्यसपछिको राजनीतिक खिचातानी जनतालाई निरुत्साहित बनाउने किसिमको छ । गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो पक्रन सकेको छैन, जसले गर्दा आम जनताको जीवनशैली बदलिएन । त्यसैकारण पनि जनतामा उतिबेला देखिएको आशा र उत्साह निराशामा बदलिएको हो । समग्र मुलुकको विकास र जनताको आर्थिकस्तर उकास्ने भन्दा नेताहरु आफ्नै स्वार्थमा केन्द्रीत भएको अनुभूत जनताले गरिरहेका छन। गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भएर जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु राष्ट्रिय आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update