Shittalpati
गणतन्त्र दिवसको औचित्य

मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइन्छ । आज पनि देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनौ जनता आफैले आफ्नै लागि गर्ने शासन पद्धति हो यो । नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन पनि हो यो । आजैको दिन नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको थियो । तर, १५ जेठको यो चरणमा नेपाली राजनीति आइपुग्नुमा २००७ सालपछि पटक–पटक भएका राजनीतिक संघर्षहरूको देन पनि उत्तिकै छ । ००७, ०३६, ०४६, १० वर्षे माओवादी विद्रोह अनि ०६२/६३ को ऐतिहासिक राजनीतिक आन्दोलनहरूको एकमुष्ठ उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र आएको हो । 

पटक–पटक राजनीतिक आन्दोलनबाट उपलब्धि हासिल गर्ने र चुक्ने नेपाली राजनीतिक नेतृत्वलाई पछिल्लो आन्दोलनले पुनः एउटा अभूतपूर्व मौका दिएको थियो । तर, त्यो अवसरको पूर्णरूपमा उपयोग गर्न नसक्दा आज पनि गणतन्त्र संस्थागत भइसकेको छैन । जनस्तरमा महशुस हुने गरी गणतन्त्र फस्टाउन सकेको छैन । गणतन्त्र दिवस मनाउनु राम्रो कुरा हो । तर, गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद गर्ने कुरा चानचुने छैन । लोकतान्त्रिक गणतन्त्रका १५ वर्ष बितिसकेका छन् । तर, परिवर्तनको अनुभूति जनताले गर्न पाएका छैनन् । गणतन्त्र दिवस मनाउँदैमा गणतान्त्रिक मन र मस्तिष्क हुँदैन, गणतान्त्रिक आदर्श हुन सक्दैन । आचरण र व्यवहार गणतान्त्रिक हुनुपर्छ । तर त्यसो हुन सकिरहेको छैन । एक हिसाबले भन्ने हो भने गणतन्त्रले आम जनताको जीवनस्तरमा बदलाव ल्याएन, बरु सीमित शासकीय वर्गले मात्रै त्यसको फाइदा उठाए । समाजको तल्लो तहले गणतन्त्रबाट अपेक्षित फाइदा लिनुपर्नेमा हुने–खाने वर्गमा मात्रै सीमित हुनु दुर्भाग्यपूर्ण अवस्था हो । जबसम्म जनस्तरमा परिवर्तनको अनुभूति हुन सक्दैन, तबसम्म गणतन्त्र दिवस मनाउनुको कुनै औचित्य हुँदैन ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update