Shittalpati
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता

पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् । महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने अभियानमा साथ दिने भन्दै भण्डारीले स्वेच्छिक सदस्यता त्यागको घोषणा गरेका हुन् ।

२ दशक लामो पत्रकारिताको यात्राबाट विश्राम लिदै भण्डारीले महासंघको सदस्यको रुपमा नरहेपनि पाल्पाली पत्रकारिता क्षेत्रको विकासका लागि जुनसुकै बेला पनि दरिलो खम्बाको रुपमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार नेपाल पत्रकार महासंघका अध्यक्षलाई सम्बोधन गर्दै उनले सदस्यता त्याग गरेको जानकारी गराएका हुुन् ।

पत्रकारिता क्षेत्रसँगै महासंघको कोषाध्यक्षको रुपमा रही संस्थागत विकास र पाल्पाली पत्रकारिताको हकहित र प्रवद्र्धनका लागि जिम्मेवारी पूर्वक काम गरेका भण्डारी पछिल्लो समय पत्रकारितामा कम सक्रिय रहे पनि त्यसयता पत्रकार महासंघको कुनै भूमिकामा रहेनन् । कोषाध्यक्ष जिम्मेवारीमा हुँदा उनले शाखाको भवन निर्माण, कोष व्यवस्थापन, स्थापित पुरस्कारहरुको संस्थागत बनाउने असल अभ्यासको शुभारम्भ गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शुरुदेखी नै पत्रकारिता र राजनीति फरक–फरक पाटो भएकाले राजनीतिक नेतृत्वमा रहनेहरुबाट पत्रकार महासंघ अलग रहनुपर्छ भन्ने मान्यता राख्ने भण्डारी दलाली चाप्लुसीमा कहिल्लै विश्वास राखेनन् । फलतः राजनीतिक दलका नेताहरुले बाँडफाँड गर्ने पत्रकार महासंघको कुनै भूमिकामा पनि भण्डारीलाई आवश्यक ठानिएन । तरपनि भण्डारी आम नागरिकको मनमुटुमा बस्न सफल बनिरहे ।

जीवनको महत्वपूर्ण समय पत्रकारिता क्षेत्रमै बिताएको बताउँदै भण्डारीले पत्रकार महासंघमा पाएको भूमिकाले थप जिम्मेवारी बढाएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘पत्रकार महासंघमा पाएको भूमिकाले थप जिम्मेवारी बनाएको छ, यसकारण पनि समग्र पाल्पाको पत्रकारिता, नेपाल महासंघ पाल्पा र यहाँ क्रियाशील पत्रकारहरुप्रति मनदेखि श्रद्धा र सम्मान व्यक्त गर्दछु ।’ सूचना तथा सञ्चारबाट आफु टाढा रहन नसक्ने भन्दै भण्डारीले औपचारिक रुपमा पत्रकार महासंघको सदस्य नरहे पनि बिगतमा गर्ने सामाजिक कार्यहरु अझ तिब्रताका साथ अगाडि बढाउने बताएका छन् ।

पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरू गरेको छ  । महासंघको सोही अभियान अन्तर्गत पाल्पा शाखाबाट सदस्यता लिएका तर हाल पत्रकारिता पेसामा नरहेका सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरिएको थियो । सोही अनुसार अहिले सम्म भण्डारी सहित ३ जनाले सदस्यता त्याग गरेको घोषणा गरेका छन् ।  

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update