Shittalpati
रामपुर नगर सरकारको एक वर्ष, अव्यवस्थितवासीलाई लाल पुर्जादेखि मजदुरको बिमासम्म

हाम्रा संवाददाता
पाल्पा,
जिल्लाको रामपुर नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उसले एक वर्षे कार्यकालमा गरेका २९ कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले नगर सरकारको नेतृत्व गरेको ६ वर्ष पुरा भएको छ । पहिलो कार्यकालको नेतृत्व गरेका थापा पुनः दोस्रो कार्यकालका लागि समेत निर्वाचित भए । पहिलो कार्यकालाई सिकाईको रुपमा लिएका थापाले दोस्रो कार्यकालमा भने केही नयाँ काम गर्ने प्रयास गरेका छन् । थापा नेतृत्वको नगर सरकारले एक वर्षमा अव्य वस्थितवासीहरुलाई लालपूर्जा दिनेदेखि मजुुरहरुको बिमा गरि दिने सम्मका जनमैत्री काम गरेको छ ।

नगर प्रमुख थापाले उपलब्धी सार्वजनिक गर्दै वर्ष उपलब्धिमूलक र सफल भएको बताएका छन् । उनले भने, ‘यो एक वर्षको अवधिमा गरिएको कार्य सम्पादनको आधारमा यो वर्ष उपलब्धिमूलक र सफल भएको महसुस गरेको छु ।’ थापाले एक वर्षको अवधिमा झण्डै ५० वर्षदेखि पुर्जाविहिन अवस्थामा रहेका अव्यवस्थितवासीहरुलाई लालपुर्जा वितरण गर्ने काम गरे । राष्ट्रिय भूमि आयोगमार्फत रामपुर नगरपालिका वडा नं. ५, ६ र ७ का दर्ता भएका ७ सय ८३ मध्ये ६ सय १६ अव्यवस्थित जग्गाधनीहरुलाई लाल पुर्जा वितरण गर्न सफल भएको नगर प्रमुख थापाले बताए । वितरण गर्न बाँकी लालपुुर्जा यही आर्थिक वर्ष भित्रमा वितरण गर्ने तयारी नगर सरकारको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अन्य अव्यवस्थित जग्गाहरुको प्रक्रियाको काम समेत शुरु गराउँदै नगरभित्रका ९४ रोपनी १३ आना क्षेत्रफल जग्गाको लाल पुर्जा वितरण गरी १० करोड २४ लाख ९ हजार ६ सय २७ रुपैयाँ राजस्व संकलन गर्न समेत नगर सरकार सफल भएको छ । सो अवधिमा नगरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको बताइएको छ । निर्माणाधिन कालिगण्डकी करिडोर अन्तर्गत रामपुर –५ को मटेरी, ठूूलोटार र वडा नं. २ को भलायटारमा विवादका कारण अवरुद्ध सडक निर्माण कार्य सकिएको नगर प्रमुख थापाले बताए । 

 नगर सरकारले पूर्वाधारतर्फ ३.१७ किलो मिटर सडक कालोपत्रे निर्माणाधिन अवस्थामा रहेको र १७.८७ किलोमिटर सडक ग्राबेल, ९.५२ किलो मिटर सडक नयाँ ट्रयाक, ४.८३ किलो मिटर पक्कि नाली निर्माण, २.३९ किलोमिटर पक्कि कुलो निर्माण गरेको  छ । स्वास्थ्यतर्फ १ वटा भवन, २० वटा सामुदायिक भवन र २२ वटा ट्रस भवन निर्माण भएको छ ।  शिक्षातर्फ ५ वटा भवन र स्वास्थ्य तर्फ १ भवन निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख थापाले बताए । नगर सरकारले एक वर्षमा १२ वटा टंकी निर्माण र १ लिफटिङ खानेपानी योजना सम्पन्न गरेका छ । थापाले महिलाहरुलाई विभिन्न वडामा आवश्यकता र चाहाना अनुसार तालिम दिई उद्यमी बनाउन सफल भएको बताउँदै उत्पादित सामग्रीको बजारिकरणमा पहल गर्ने पनि बताए । 

युवा स्वरोजगार मार्फत रोजगार सिर्जना गर्नुका साथै कृषि र पर्यटन क्षेत्रमा पनि कार्य भैरहेको उनले बताए । नगर सरकारले जेष्ठ नागरिक ग्राम तथा अपा·ता गृहको लागि प्रक्रिया अघि बढाएको छ भने रामपुर क्षेत्रमा कार्यरत मजदुरहरुको सुरक्षाको लागि बिमा कार्यक्रम समेत लागु गरेको छ । उसले नगरपालिकाबाट प्रवाह हुने सेवालाई डिजिटल प्रविधियुक्त बनाउने कामको शुरुवात पनि गरेको छ । नगरपालिकाले आन्तरिक आम्दानी वृद्धिका लागि करको दर भन्दा पनि करको दायरा बढाउने काम गरेको छ ।

हालसम्म नगरपालिकाले आन्तरिक आयमार्फत २ करोड ६४ लाख १७ हजार ९ सय ७९ रुपैयाँ राजश्व संकलन गरेको छ । उपप्रमुख बालकुमारी थापाले नागरिकलाई न्यायको प्रत्याभुति दिलाउनका लागि न्याय सम्पादनको कामलाई न्यायोचित रुपमा अगाडि बढाईएको बताइन् । न्यायिक समितिमा यस वर्ष ८१ वटा निवेदन परेको मध्ये ५७ वटा मिलापत्र गरिएको र  २ वटा अदालत पठाईएको छ । प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले प्राशनिक सेवालाई थप सहज र सरल बनाउने काम गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update