Shittalpati
सुरक्षित भवन निर्माणका लागि समन्वय आवश्यक

पाल्पा,सुरक्षित र बलियो घर, भवन निर्माणका लागि समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रामपुरमा भएको घर तथा भवन निर्माण सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुरमा सञ्चालित ईन्जिनियरिङ कन्सल्टेन्सी र रामपुर नगरपालिकाबिच सुरक्षित र बलियो घर तथा भवन निर्माणमा समन्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।

    समन्वयको अभावमा बनिरहेका विभिन्न घर तथा भवन मापदण्ड अनुसार नबनेको र निर्माण सम्पन्न प्रमाण पत्र वितरण गर्न समस्या भएको सहभागीहरुले बताएका छन् ।  कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कानुन र व्यवस्थाको पालना गर्दै विपद्बाट क्षति नहुने सुरक्षित संरचना निर्माण गर्नु पर्ने बताए । निर्माण व्यवसायी मजदुर, कन्सल्टेन्सी र रामपुर नरपालिकाका प्राविधिकबिच समन्वयको आवश्यकता रहेको उनले औल्याए । नगर प्रमुख थापाले घर निर्माण गर्दा निर्माण व्यवसायी तथा मजदुर र कन्सल्टेन्सीले विशेष ध्यान दिनुु पर्नेमा जोड दिए । सुरक्षित निर्माणका लागि सबैले आ–आफ्नो जिम्मेवारी बहन गरेर काम गर्नु पर्ने उनले बताए । थापाले हरेक घर भवन निर्माण गर्दा  भवन आचारसंहिता अनुसार निर्माण गर्न निर्देशन समेत दिए । आचारसंहिताको पालना नगरी घर भवन निर्माण गरे कडाईका साथ कारवाही गन पनि उनले चेतावनी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले सुरक्षित र मजबुत भौतिक संरचनाका लागि निर्माण व्यवसायीको प्रमुख भूूमिका हुने बताए । साथै निर्माणको क्रममा नक्सा अनुसारको निर्माण कार्य भएको छ कि छैन ? भनेर निगरानी गर्ने काम ईन्जिनियरिङ कन्सल्टेन्सीको भएको बताए ।

    यस्तै रामपुर नगरपालिका –५ का वडा अध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक दुर्गाप्रसाद पाखेरेलले आचारसंहिता अनुसार घर निर्माण गर्नका लागि घरधनीलाई परामर्श दिन आवश्यक रहेको भन्दै नक्सा पास भए अनुसार घर निर्माण गर्न आग्रह गरे । कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीले नगर भित्र बनेका घर, भवनको नगरपालिकाले समयमै अनुगमन गर्नुपर्ने बताए । नगरपालिकाले आचारसंहिता अनुसार घर बनेको छ या छैन त्यसको अनुगमनलाई प्रभावकारी बनाए घरधनी पनि सचेत भएर आचारसंहिता अनुसार घर निर्माण गर्ने बताए । रानीमहल ईन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक महेश कुँवरले नक्सा पास प्रक्रिया झन्झटिलो रहेकाले धेरैले अभिलेखिकरण गर्ने गरेको भन्दै सुरक्षित आवास निर्माणका लागि तीनै क्षेत्रको क्रियाशिलताको खाँचो रहेको बताए । रामपुर नगरपालिकाका ईन्जिनियर कृष्णबहादुर थापाले नक्सा अनुसारको घर निर्माण नगरेर अभिलेखिकरण लिनेको संख्या बढी रहेको भन्दै मजदुरहरु घरधनीसँग बढी घुलमिल हुने भएकाले आचारसंहिता, सुरक्षा लगायतका विषयमा बुझाउन जरुरी रहेको बताए । रामपुर नगरपालिकाका घर नक्सा शाखाका प्राविधिक शंकर कंडेलले निर्माण व्यवसायीबिच घर निर्माणको दर रेटमा एक रुपता नहुँदा पनि कमसल संरचना निर्माण भईरहेको बताए । योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update