Shittalpati
जनतालाई राहत दिने बजेट ल्याऊ

सरकारले जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउँदै छ । विगतमा जस्तै सरकारले यसपटक पनि नीति तथा कार्यक्रम संसदमा पेश गरी छलफल गरिरहेको छ । छलफल पछि जेठ १५ मा बजेट, नीति तथा कार्यक्रम आउने छ । अब आउने बजेट कस्तो होला भनि सर्वत्र चासो समेत बढेको छ । अहिलेको अवस्थामा बजेटप्रति चासो बढ्नु स्वाभाविक हो । किन भने देश आर्थिक रुपमा निकै कमजोर भएको छ । मुलुकमा मंहगी अत्यन्त बढेको छ । सरकारको ढुकुटी रित्तिएको छ । कर्मचारीको तलब भत्ता खुवाउन पनि आन्तरिक ऋण लिनुपरेको छ । बजारमा वस्तु तथा सेवाको माग छैन, उपभोग घटेकाले उत्पादन ठप्प छ । यस्तो अवस्थामा सरकारले ल्याउने बजेटप्रति धेरैले चासो देखाएका छन् । सरकारले यी सम्पूर्ण समस्या समाधान गर्ने गरी बजेट ल्याओस् भन्ने धेरैको चाहाना छ ।  

हरेक अर्थमन्त्रीले ल्याउने बजेट आकारमा ठूलो, लक्ष्य भेट्न मुस्किल हुने अनि झोले र टुक्रे कार्यक्रममा कनिका छर्ने अनि महत्वाकांक्षी योजना ल्याउने तर कार्यान्वयन गर्न नसक्ने खालका आउने गर्छन् । कतै अहिले पनि सरकारले तिनै कुरालाई निरन्तरता त दिने होइन भन्ने शंका उत्पन्न हुने गरेको छ । अहिलेको अवस्थामा सरकारले यस्ता विषयलाई भन्दा पनि आम नागरिकलाई प्रत्यक्ष राहत दिने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्छ । लामो समयको कोरोना महामारीका कारण समस्यामा परेका नागरिक महँगीका कारण थप पीडामा छन् । यस्तो अवस्थामा सरकारले नागरिकको पीडालाई जसै गरे पनि सम्बोधन गर्न आवश्यक छ । सरकारले ल्याउने बजेट यथार्थपरक हुनु पर्छ । किनभने लोकप्रिय बजेट ल्याउने इच्छा सबैलाई हुन्छ । लोकप्रिय बजेटमा कनिका धेरै छरिन्छ । थैली नहेरी रकम बाँडिन्छ । तर यो गलत हो । सरकार जनताको अभिभावक हो । अहिलेको अवस्थामा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । यो सरकारबाट आम नागरिकले त्यति ठूलो अपेक्षा नगरे पनि आगामी बजेटमा आम नागरिकलाई राहत दिने गरी ल्याउन सकोस् ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update