Shittalpati
तानसेनमा रोजगार मेला, ३ सय बेरोजगारले दिए आवेदन

पाल्पा, तानसेनमा रोजगारीको मेला सञ्चालन भएको छ । तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीहरुको लागी तानसेनमा एक दिने बृत्ति विकास तथा रोजगार मेला भएको हो ।

तानसेन नगरपालिका –४ मखनटोल दरवार क्षेत्रमा भएको रोजगार मेलामा उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका २८ वटा स्टलहरुबाट रोजगारी तथा सिपमुलक तालिमको बारेमा जानकारी गराइको थियो ।

मेलाको  लुम्बिनी प्रदेशका पूूर्व उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री एवं प्रदेश सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन्  । मेलाको उद्घाटन गर्दै मन्त्री रानाले नगरपालिकाले तानसेन नगर भित्र रहेका बेरोजगार युवाहरुलाई रोजगार मेलाले रोजगारी प्रदान गर्ने तथा  आवश्यक सिप तथा प्रविधीमा सहयोग पुग्ने बताए । देशको आर्थिक अवस्था जटिल मोडबाट अगाडि बढेको परिस्थितिमा नगरपालिकाले बेरोजगार युवा र रोजगारदाताहरूबिच समन्वयको काम गर्न रोजगार मेलाको आयोजना गरेकोमा सासंद रानाले खुसी व्यक्त गरे । देशमा लगानीको वातावरण नहुँदासम्म रोजगारीको सिर्जना नहुने बताउँदै लगानीको वातावरण सिर्जना गर्न ,युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगार बनाउन र मुलुकको समृद्धिका लागि देशमा तीन तहको सरकारहरुले यस्ता मेला समय समयमा गर्नुपर्नेमा प्रदेश सांसद रानाले जोड दिए ।  लुम्बिनी प्रदेश सरकारले “समृद्व प्रदेश आत्मनिर्भर लुम्बिनी” नाराका साथ  काम गर्दै आएको उनले बताए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ  खनालले  कर्म गर्न खोज्ने युवा शक्तिलाई  स्वदेशमै रोजगार तथा स्वरोजगार बनाउन मेलाबाट सहयोग पुग्ने बताए ।  

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले क्षमता र सीप भएर बेरोजगार भएका र सिप क्षमता बढाएर रोजगारी गर्न चाहेका दुबै थरी जनशक्तिको लागि रोजगार मेलाबाट समेटिने बताईन् । तानसेन नगरपालिकाले हाल १४ वटा वडाबाट करिब १५ सय युवाहरु विदेशबाट फर्किर स्वदेशमै रोजगारीको चाहाना राखेको नगर उपप्रमुख सिंजालीले बताईन् । हेल्भेटास इनसियोर लुम्बिनी प्रदेश संयोजक निर्मला मैनालीले  हाल ३५ लाख युवाहरू बैदेशिक रोजगारमा रहेको  र सन २०२२ मा विदेशबाट करिब ११ खर्ब रेमिटान्स भित्रिएको  बताईन् । संस्थाले  लुम्बिनी प्रदेशमा ५ हजार  युवालाई रोजगार तथा  स्वरोजगार बनाउने उद्देश्य लिएर प्रदेशका ११ वटा नगरपालिकामा काम गर्दै आएको मैनालीले बताईन् । होटल तथा रेष्टुरेन्ट व्यवस्थायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले मेलाले रोजगार लिने र दिने दुवैपक्षलाई फाईदा पुगेको बताए । कार्यक्रम रोजगार मेला उपसमितिका संयोजक प्रदीप खनालले मेलाको उद्देश्य, अवधारण, हालको अवस्था बारे जानकारी गराएका थिए ।  तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठको अध्यक्षता र विन्दु थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 रोजगार मेलामा ३ सय बेरोजगारले आवेदन दिएका छन् । जसमा २ सय ९३ जानाको रोजगार सुुनिश्चित भएको तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कपिला न्यौपानेले बताईन् । उनका अनुसार १ सय ४५ जनाले सिप सिक्नका लागि आवेदन दिएका छन् । भवन तथा बाटो निर्माणकर्मी संघले १ सय जना दक्ष र १ सय अर्धदक्ष गरी २ सय जना कामदार माग गरेकोमा ८ जनाले मात्र फारम भरेका छन् भने पाल्पाली ढाका संघलाई ४० जना कामदार चाहिएकोमा ५ जनाले मात्र कामको लागि आवेदन दिएका छन् । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तानसेनको स्टलमा विभिन्न विद्यालयबाट ४ जनाको माग भएकोमा ४५ जनाले फारम भरेको प्याब्सन नगर अध्यक्ष गंगाबहादुर खत्रीले बताए ।

यसैगरी पाल्पा होटल तथा रेष्टुरेष्टका लागि ४० जना दक्ष कामदार चाहिएकोमा १८ जनाले फारम भरेका छन् । दुबै पक्षको सहमतिमा १८ जनाले चाहेको समयमा काम पाउने संघले जनाएको छ । पाल्पा व्यापार संघमा रोजगारीको लागि ८ जनाले फारम भरेका छन् । हाम्रो जब लिंकमा २८ जनाले रोजगारीको लागि र ४ जनाले सिप सिक्न आवेदन दिएका छन् । हाम्रो जव लिंकले आवेदन दिएका व्यक्तिहरुको रोजगारी सुनिश्चित गरेको जनाएको छ । नेपाल व्युटिसियनमा ५ जनाले सिप सिक्न आवेदन दिएका छन् । यस्तै नाटा पाल्पाले ३ जना, पाल्पा होजियारीले ३ जना, पाल्पा उद्योग वाणिज्य संघले १० जना माग गरेको छ । मेलामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका घर, विद्यालय, डोजर जस्ता सामग्रीहरु प्रदर्शन गरिएको थियो । २ हजार ५ सयले मेला अवलोकन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update