Shittalpati
जलन उपचारको व्यवस्था गर

सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुन्छ । जसले गर्दा नेपाल जस्तो आर्थिक रुपमा कमजोर मुलुकका लागि यो चुनौतीपूर्ण मानिन्छ । नेपालमा विशेष गरी आगलागी, डढेलो नियन्त्रणको प्रयासका क्रममा हुने आगलागि, आत्मदाहको प्रयास आदिबाट मानिसहरु जल्ने गरेको पाइएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार विगत ५ वर्षमा ३ सय ३६ जनाको आगोबाट जलेर मृत्यु भएको छ । नेपालमा वर्षेनी ७५ हजार आगो र एसिड जलनका घटना हुने गरेका पाइन्छ । तर यहाँ जलनको उपचार हुने छट्टै अस्पताल भने छैन । यो अत्यन्त दुखको कुरा हो ।

सरकारले आगो र एसिडबाट जलनको उपचारका लागि पाँचवटा अस्पताल छुट्याएको छ । जसमध्ये तीनवटा अस्पतालले मात्रै सेवा दिइरहेका छन् । हाल त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर अस्पताल, पाटन अस्पताल र गैरसरकारी सुष्मा कोइराला मेमोरियल अस्पतालमा मात्रै जलनको उपचार भइरहेको छ । पाटन अस्पतालले पनि जलन वार्ड सञ्चालनमा ल्याएको छ । वीरमा भने जलन वार्ड नै छैन । नियमित उपचार भइरहेका अस्पतालमा वार्षिक १५ सयभन्दा कम बिरामी पुग्ने गरेको तथ्यांक छ। काठमाडौंमा मात्र जलनको उपचार हुने अस्पताल भएकाले आउन जान, खाना बस्न र उपचारमा धेरै खर्च हुने भएकाले सर्वसाधारण मारमा परेका छन् । यसका कारण पनि जलन उपचारको व्यवस्था सातै प्रदेशमा हुुनुपर्दछ । जलन अन्य दीर्घरोग जस्तै जटिल मानिन्छ । जलनमा पर्नेहरूको श्वास नली सुनिँदै गएर बन्द हुन्छ र ज्यानसमेत जान सक्छ । नेपालमा जटिल जलन उपचार गर्न पर्याप्त स्रोतसाधन छैन् । जलन समस्या राज्यको प्राथमिकतामै परेको छैन ।

नेपालमा जलनका घाइतेलाई उपचार गर्न भनेर बनाइएका सरकारी अस्पताल छैनन् । आवश्यकीय सुविधासम्पन्न छुट्टै अस्पताल बनाउन लागतको हिसाबले अहिलेलाई नसकिने भए पनि कम लागतमै ठूूला अस्पतालमा प्रविधि, जनशक्ति र आवश्यक पूर्वाधारसहित वर्न वार्ड स्थापना गर्न सकिन्छ, यो अत्यावश्यक छ । ग्याँस लिक भई आगलागीमा परी घाइते भएका नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीले  संसद्मा बोल्दै जलनसम्बन्धी समस्या भएका मानिसहरूका लागि उच्चस्तरीय जलन अस्पताल आवश्यकता रहेको औल्याउदै सरकारलाई त्यसतर्फ ध्यानाकर्षण गराएका छन् । यो अत्यन्त राम्रो कुुरा हो । उनले आफुु त्यसैबाट पीडित भएर मात्र होइन, देशमा त्यस्ता धेरै नागरिकहरुले त्यस्तै समस्या भोगेकाले यस्तो बताएका हुन् । यसलाई सरकारले गम्भीरताका साथ लिनुु पर्छ । विपन्न उपचार नपाएर अकालमा मृत्यु हुनुपर्ने तर कतिपय पहुँचवालाले राज्यकोषको रकम खर्च गरेर विदेशमा उपचार गर्ने पद्धतिको अन्त्यका लागि पनि सरकारले नेपालमै जलन सम्बन्धी उपचारका लागि उचित व्यवस्था गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update