Shittalpati
रैनादेवी छहराका विद्यालयमा सूचना प्रणाली लागु गर्ने

कृष्ण पोखरेल
पाल्पा,
जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विद्यालयहरुमा एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) लागुु गरिने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले सामुुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, विद्यालयमा शैक्षिक अनुशासन कायम राख्ने, पालिकादेखी प्रदेश तथा संघबाट सम्बन्धित मन्त्रालय, विभागबाट समेत विद्यालयको अवस्था थाहा पाउन सकिने गरी विद्यालयमा सूचना प्रणाली लागुु गर्न लागेको हो ।

 पालिका भित्रका ६१ वटै विद्यालयमा एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गर्न लागिएको पालिकाले जनाएको छ । यो प्रणाली पूर्ण रुपमा लागु भएपछि सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ठूूलो सहयोग पुग्ने जनाइएको छ । सूचना प्रणालीबाट  विद्यालयको तथ्यांक, विद्यार्थीको नियमित विवरण,  विद्यार्थीको प्रगति विवरण, शिक्षक प्रगति विवरण, शिक्षक हाजिरी, लेखा, तथा पुस्तकालयको विवरण, प्रथम, दोस्रो र  अन्तिम नतिजा प्रकाशनको विवरण, शैक्षिक सुधारको अवस्था जस्ता कुराहरु  समेटिने छन् । सूचना प्रणालीको विवरण हरेक अभिभावकलाई मोवाइल एपमार्फत जानकारी दिन मिल्ने छ । केन्द्र देखी पालिकाले कम्प्युटरबाटै अलनलाईनमार्फत सबै विवरण हेर्न अध्ययन तथा विश्लेषण  गर्न सक्ने र सोही अनुसारको शिक्षामा सुधारका योजनाहरु ल्याउन सक्ने देखिन्छ । पालिकाले प्राथमिक तहका प्रधानाध्याक तथा शिक्षकहरुलाई जेठ १० र ११ गते, आधारभुत र माध्यमिक तहका प्रधानाध्यापक तथा शिक्षकहरुलाई जेठ १२ र १३ गते एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको विषयमा तालिम सञ्चालन गरेको छ । तालिम शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष रुक्मागत भट्टराईले विद्यालय शिक्षालाई गुणस्तर बनाउन, गाउँ–गाउँमा पढेका विद्यार्थीहरुलाई टिक्ने, विक्ने बनाउन पालिकाले शिक्षामा लगानी बढाउदै जाने बताए । पालिका भित्रका अधिकांश विद्यालयमा पुर्वाधारहरु पुरा भएको र अबका दिनमा प्रविधी मैत्री शिक्षामार्फत गाउँ–गाउँमै गुणस्तरीय शिक्षा प्रदान गरी पढाईको नाममा हँुदै आएको बसाई सराई रोक्ने अभियानमा पालिका लागेको अध्यक्ष भट्टराईले बताए ।  कार्यक्रममा उपाध्यक्ष युवराज थापाले पालिकाले शिक्षा  क्षेत्रमा लगानी तथा निगरानी बढाउदै लगेको र आगामी दिनमा नतिजामा सुधार आउने गरी सबै पक्षबाट काम गर्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले पालिकाले विद्यालयहरुमा आवश्यक पूूर्वाधार तथा वातावरण तयार पार्ने काममा सहयोग गर्ने बताए ।  विद्यालय शिक्षाको गुणस्तर कायम गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, तथा अविभावकहरुको मुल दायित्व तथा जिम्मेवारी हुने प्रमुख प्रशासकिय अधिकृत सारुले जोड दिए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक हुमानसिंह कार्की, शिक्षा समिति सदस्यहरू  नल बहादुर राना, झलकबहादुर रायमाझी, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समिति सदस्य शारदा रायमाझी, पदम सोमै, शिक्षा अधिकृत  निशा पाण्डे लगायतले तालिमको प्रभावकारिता बारे चर्चा गरेका थिए ।  तालिममा रिब्दीकोट गाउँपालिकाका शिक्षा अधिकृत  मणि प्रसाद खनालले प्रशिक्षण दिएका छन् । तालिम जेठ १३ गते सम्म चल्ने छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update