Shittalpati
रैनादेवी छहरा गाउँपालिकाद्धारा शिक्षक सेवा आयोगको निःशुल्क कक्षा सञ्चालन

कृष्ण पोखरेल
पाल्पा,जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका भित्रका शिक्षित युवाहरुलाई लक्षित गरेर दुई हप्ते शिक्षक सेवा आयोग सम्बन्धी तयारी कक्षा सञ्चालन गरेको छ । पालिका भित्रका ४० जना शिक्षित युवाहरुलाई पालिकाले दुई हप्ते प्रा.वि स्तरको शिक्षक सेवा आयोगको तालिम सञ्चालन गरेको हो ।
शिक्षक सेवा आयोगले यही जेठ २० गते प्राविस्तरको पहिलो लिखित परिक्षा लिदै छ । गाउँपालिकाले आयोगले लिने लिखित परिक्षालाई लक्षित गरेर युवासँग उपाध्यक्ष कार्यक्रम अन्तर शिक्षित युवाहरुलाई शिक्षक सेवा आयोगको तालिम सञ्चालन गरेको जनाएको छ । तालिममा विगत लामो सयमदेखी शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् ।

तालिमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष रुकमागत भट्टराईले पालिका भित्रका विद्यालय शिक्षालाई भरपर्दाे गुणस्तरीय बनाउन स्थानीय व्यक्तिको बढी जिम्मेवारी र दायित्व हुने भएकाले समय सान्दर्भिक पारेर पालिकाले स्थानीय व्यक्तिलाई नै केन्द्रित गरेर तालिम सञ्चालन गरेको बताए । यो तालिम स्थायी रोजगार युक्त तालिम भएको, ध्यान दिएर सिक्न, अभ्यास गर्न सहभागी युवाहरुलाई पालिका अध्यक्ष भट्टराईले आग्रह गरे । पालिकाले विकास निर्माणसँगै गाउँ क्षेत्र रोजगारी प्रदान गर्नका लागि विभिन्न किसिमका सिपयुक्त तालिम सञ्चालन गर्दै आएको पालिका अध्यक्ष भट्टराईले बताए ।
पालिका उपाध्यक्ष युवराज थापाले गाउँका शिक्षिक युवाहरुलाई लक्षित गरेर युवा केन्द्रित कार्यक्रम अन्तरगत शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको बताए । पालिकाले यस क्षेत्रका विद्यालयमा स्थानीय शिक्षक भएमा अध्ययन अध्यापन राम्रो हुने, बढी समय विद्यालयमा विताउने, काममा सक्रिय भएर लाग्ने अवस्था रहने उपाध्यक्ष थापाले बताए । आगामी दिनमा शिक्षक सेवा आयोग, लोक सेवा आयोग जस्ता विषयबस्तुमा तालिम सञ्चालन गरिने उपाध्यक्ष थापाले बताए ।

कार्यक्रममा लेखा अधिकृत लिलामणी बस्यालले तानसेन बुटवल तथा काठमाडौ जस्ता शहरमा बसेर यस्ता किसिमका तालिम लिदा लाखौ रुपैयाँ खर्च हुन्थ्यो तर पालिकाले निशुल्क रुपमा तालिम सञ्चालन गरेको बताए । तालिममा पुरुष भन्दा महिलाहरुको सहभागिता बढी देखिएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update