Shittalpati
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा

गुल्मी, जिल्लाको गुल्मी दरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकाले जिल्लामै पहिलो पटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।

पालिकाले भने नेपालमै पहिलो पटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको दावी गरेको छ । पालिकाका भित्रका सात वटै वडामा रहेका स्वास्थ्य संस्थालाई एक कार्यक्रमका बिच पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको पालिकाले जनाएको छ । लुम्बिनी प्रदेशका प्रदेश सांसद् धनेन्द्र कार्कीले पालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेका हुन् । पालिका घोषणा गर्दै प्रमुख अतिथि समेत रहेका कार्कीले घोषणालाई दिगो बनाई राख्ने दिशामा ध्यान दिन पालिकालाई आग्रह गरे । जिल्ला समन्वय समितिका प्रमुख दोर्ण खत्रीले सामाजिक अभियान परिवर्तन गर्ने बहुआयामिक पोषणमैत्री कार्यक्रम भएकाले घोषणामा दिगो बनाउनु पर्नेमा जोड दिए । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदण्डहरु पुरा भएकाले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।

२०७६ साल फागुनमा गुल्मीदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गिय अशोक कुमार थापाको अध्यक्षतामा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसी १७ बुँदे प्रतिवद्धता जारी गरेको थियो । सो प्रतिवद्धता अनुसार नै गाउँपालिकालाई पूर्ण पोषणमैत्री गाउँपालिका घोषणाको लागि आवश्यक सुचकहरु पुरा गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताए । ‘पोषण विशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ बमोजिम ७ वटै वडाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले सबै सूचकहरु पुरा गरेको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत नारायणप्रसाद अर्यालले बताए । गुल्मीदरबार गाउँपालिका, जिल्ला समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको पोषण तथा खाद्य सुरक्षा निर्देशनक समितिले अनुगमन, मूल्यांकन तथा सुचकको प्रमाणिकरण पत्र प्राप्त भएपछि घोषणा गरिएको हो ।

गर्भवती महिलाले ८ पटक पूर्व प्रसुति जाँच, प्रसुति पछिको ४ पटक जाँच, टिडि खोप लिएको तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा सुत्केरी गराएको, २४ महिनासम्म बालबालिकहरुले नियमित वृद्धि गर्ने गरेको पाईको छ । गाउँपालिकाका सातै वडामा भएका स्वास्थ्य संस्थाहरुमा स्थापना सम्बन्धी तालिम दिई नमूना करेसाबारी सञ्चालन गरेर सुनौलाहजार दिनका घरपरिवारमा करेसाबारी स्थापना तथा नियमित रुपमा फलफुल, सागसब्जी, गेडागुडीको उपभोग गर्ने सम्बन्धी परामर्श स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिदै आएको कृषि विकास शाखाका प्रमुख आविश्कार खत्रीले बताए । अनुगमन तथा सुचकहरुको प्रमाणिकरणको लागि सुआहाराका पोषण तथा खाद्य सुरक्षा विषेशज्ञ लिलबहादुर नेपाली र स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख बोम अर्यालले गुल्मीदरबार गाउँपालिकाले सम्पूर्ण सुचक पुरा गरेकाले गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको बताए । –रामकृष्ण कंडेल

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update