Shittalpati
राष्ट्रपतिको सकरात्मक कदम

विगतमा सधैँ राष्ट्रपति सवार हुँदा आमनागरिकले सास्ती भोग्नुु परेकोमा सर्वत्र आलोचना हुने गथ्र्यो । तर अहिले भने रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै त्यस्तो आलोचना खेप्नुु परेको छैन । तामझामबिना नै उनी सवार हुन थालेपछि आम नागरिकले सास्ती भोग्नुु परेको छैन् । राष्ट्रपति पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शीतल निवासबाट संसद् भवन जाँदा यसअघिजस्तो सडक अवरुद्ध भएन । बिरामी, स्कुले बालबालिका, वृद्धवृद्धा वा कार्यालयको काम सकेर घर फर्कँदै गरेका पेसाकर्मी यस अघिजस्तो घण्टौं सडकमा रोकिएर सास्ती खेप्नु परेन ।

विगतमा भिभिआइपीको सुरक्षा जिम्मा लिएको नेपाली सेनाले राष्ट्रपतिको सवारी रूट निर्धारण र त्यसको जानकारी नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गराएपछि प्रहरीले सडक सुरक्षा प्रबन्ध र ट्राफिक प्रहरीले निर्धारित सवारी रूटमा अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउँने व्यवस्था थियो । यसो गर्दा सबैभन्दा बढी सर्वसाधारणले सास्ती खेप्नुुपथ्यो । तर राष्ट्रपति पौडेलले भने त्यो व्यवस्थालाई उपयोग गरेका छैन् । निर्वाचितलगत्तै उनले विभिन्न धार्मिक स्थलहरुको दर्शनमा जाँदा समेत पहिलेको जस्तो सुरक्षा व्यवस्थाको उपयोग गरेनन् । यो उनको अत्यन्त सकरात्मक कदम हो । इच्छाशक्ति भए सडकमा आम जनतालाई सास्ती नदिई पनि राष्ट्रपति आउजाउ गर्न सक्ने रहेछन् भन्ने सन्देश हो यो उनको । आफूलाई कुनै खालको सुरक्षा खतरा नरहेको र आम जनतालाई दुःख दिने गरी सडक खाली गर्नु पर्दैन भन्ने निर्देशन उनको छ । यसअघि गणतन्त्र नेपालका दुई जना राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी कार्यक्रममा जाँदा सडकमा राष्ट्रपतिको ‘राजकीय सवारी’ चलाइन्थ्यो । कार्यविधिअनुसार उक्त राजकीय सवारीमा सुरुमा प्रहरी वार्निङ मोटरसाइकल, त्यसपछि १८ जनाको आउट राइडर्स, भीभीआईपीको अगुवा कार, ६ घोडे भीभीआईपी बग्गी, दुई क्याभिलरी स्कर्ट अधिकृत, त्यसपछि भीभीआईपी पछुवा कार, १२ जनाको आउट राइडर्स, जगेडा कार, प्रहरी महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जीप र प्रहरी पछुवा मोटरसाइकल हुन्थ्यो । काठमाडौंको व्यस्त र साना सडकमा भीभीआईपीको यस्तो सवारी चलाउँदा घण्टौंसम्म अन्य सवारीलाई रोकेर सडक खाली गराइन्थ्यो । यसले गर्दा विरामी भएर अस्पताल हिडेका विरामीदेखि वृद्धवृद्धा, बालबालिकाहरुले ठूलै समस्याभोग्नुु परेको थियो । यसलाई कम्तीमा पनि अहिलेका राष्ट्रपतिले तोडेका छन् । यो कदमको सर्वत्र तारिफ भएको छ । यसलाई राष्ट्रपति पौडेलले आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update