Shittalpati
रामपुरमा सञ्चालित आवधिक योजना तर्जुमा गोष्ठी सकियो

पाल्पा, रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सकिएको छ । रामपुर नगरपालिकाको आगामी पाँच बर्षका लागि अवश्यक योजना तथा बजेट अनुमान सहित विहीबारदेखि सञ्चालन भएको गोष्ठी शनिबार सकिएको हो ।

नगर भित्रका वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न राजनितिक दल, विषयका विज्ञ, विषयगत शाखाका प्रमुख तथा कर्मचारी , पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको कार्यशालामा आगामी ५ बर्षका लागि नगरमा संचालन गर्नु पर्ने योजना र अनुमानित बजेट प्रस्तुत गरिएको थियो । कार्यशालामा नगरको पूर्वाधार विकास, समाजिक विकास , आर्थिक विकास , वन तथा वातावरण एवं विपद व्यवस्थापन , संस्थागत सुशासन तथा व्यवस्थापन र समष्टिगत क्षेत्रका विभिन्न योजनाका विषयमा सामुहिक रुपमा छलफल गरिएको थियो । कार्यशालाले “सुखी समृद्ध सुसंस्कृत शहर , सम्मुन्नत रामपुर हाम्रो रहर ”भन्ने नारा तय गर्दै आगामी ५ बर्षका लागि विभिन्न योजना माथि छलफल गरेको हो । कार्यशालामा नगरको कृषि , शिक्षा , स्वास्थ्य , पर्यटन , वन तथा वातावरण , सडक ,भौतिक पूर्वाधार निर्माण , खेलकुदको विकास , राजश्व लगाएतका क्षेत्रमा संचालन गरिने योजना र बजेट प्रस्तुत गरिएको थियो ।

कार्यशालाको समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कार्यशालाबाट तय भएका योजनालाई कार्यान्वयन गर्न सके मात्र सुखी समृद्ध सुसंस्कृत शहर, सम्मुन्नत रामपुर हाम्रो रहर भन्ने नाराले सार्थकता पाउने बताए । उनले नगरको विकास र समृद्धिका लागि सवै क्षेत्रको समन्वय र सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको बताए । नगर प्रमुख थापाले भने – “सामुहिक योजना बनाएर अगाडी बढे नगरको विकास सम्भव छ, हरेक योजना सञ्चालन र कार्यान्वनका लागि सबैको एउटै आवाज हुनुपर्छ । ” उनले धेरै योजना संचालन गर्नु भन्दा पहिचान दिने खालका योजना सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । सबै क्षेत्रमा टुक्रे योजना संचालन गर्दा दिर्घकालिन रुपमा परिणाम नदेखिने भएकाले वडाले पनि वडाको पहिचान दिने खालका योजना बनाउन र धेरै योजना माग नगर्न आग्रह गरे । थापाले धेरै योजना माग गर्ने र योजना राख्नु पर्ने बाध्यता रहेको भन्दै अब सबैको समन्वयमा पहिचान र परिणाम देखिने योजना बनाउन आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव एवं विज्ञ कृष्ण प्रसाद पौडेलले विकासको खाका तयार भएकाले यसलाई आधार मानेर नगरको योजना तय गर्न आग्रह गरे । उनले नगर भित्र रहेका स्रोत साधनको उच्चतम प्रयोग गरेर नगरको कायाप्लट गर्नु पर्ने बताए । कार्यशालामा नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णु प्रसाद रेग्मीले कार्याशालाको क्रममा छलफल भएका कतिपय योजना नमिलेकाले संशोधन सहित कार्यान्वयनको पक्षमा जोड दिनु पर्ने बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सभापति अर्जुन प्रसाद श्रेष्ठ , नेकपा एकिकृत समाजवादीका जिल्ला सहसचिव कमल सेन , राष्ट्रिय प्रजातन्त्र पार्टिका बृहस्पति अर्याल लगायतले सबैसँग समन्वय गरेर योजना तय गरि नगरको समुन्नत विकासमा लाग्नु पर्ने बताए । रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोग र सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिको सहजिकरणमा कार्यशाला सम्पन्न भएको हो । विहिबार देखि चलेको ३ दिने कार्यशाला गोष्ठिको सहजिकरण सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिका कन्सल्टेन्ट किशोर रिजाल र शालिकराम पोखरेलले गरेका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update