Shittalpati
तानसेन नगर सरकारको एक वर्ष : २५ उपलब्धि

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उसले एक बर्षे कार्यकालमा गरेका २५ कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले एक बर्षको अवधीमा छिटपुट बाहेक २५ मुख्य उपलब्धि हासिल गरेको बताएका छन् । कार्यालयमा पत्रकार सम्मेलनमार्फत नगर सरकारले एक बर्षको कामको फेहरस्ती सार्वजनिक गरेको छ ।

उसले एक वर्षमा छिटफुट बाहेक २५ कामलाई मुख्य उपलब्धिका रुपमा लिएको छ । लिखत रुपमा प्रस्तुत गरेको कार्य प्रगति प्रवक्ता यादवसिंह कार्कीले सार्वजनिक गरे । नगर सरकारले चुनौतीको रुपमा रहेको दरबार परिसरका घरटहरा हटाउने विषयलाई महत्वपूर्ण उपलब्धि मानेको छ । तानसेनको पर्टकीय र सौन्दर्यसँग जोडिएको घरटहरा हटाउने काममा सफल भएको विषय नगर सरकारले मुख्य उपलब्धिका रुपमा राखेको छ ।

यस्तै उसले सामुदायिक विद्यालयको समायोजन, एकीकरण र कक्षा कटौती गरेर लगानीको बचत गर्ने काम गरेको उल्लेख गरेको छ भने विद्यार्थी संख्या छलेर दिवा खाजाको पैसा लिने विद्यालयका विषयमा भने मौनता देखाएको छ । नगरपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक ५ सय भत्ता, न्यूनतम २० युनिटसम्म विद्युत् खपत गर्नेको विद्युत् महशुल निःशुल्क, लद्यु प्रकृतिका लिफ्ट खानेपानी आयोजनाको विद्युत् खपतमा २५ प्रतिशत अनुदान दिने प्रक्रिया, प्राथमिकतामा परेका समूहको स्वास्थ्य बीमा शुल्क भूक्तानी, छोरी शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । कार्यक्रममा रानीमहलको प्रचारका लागि प्रेम दिवसमा प्रेम जोडीलाई सम्मान, नगर सभा र कार्यपालिका बैठक, घोषणा पत्र जारी, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विभिन्न आवश्यक समिति र उपसमितिहरु गठन, सडक खाना महोत्सवलाई पनि नगरपालिका प्रमुख कार्य मानेको छ । सहकारीलाई करको दायरामा ल्याइएको, ११ को वडा कार्यालय भवन निर्माण गरेको, ९ को वडा कार्यालय व्यवस्थापन र १ को वडा कार्यालय भवन निर्माणको चरणमा रहेको प्रवक्ता कार्कीले बताए । तानसेन नगरलाई मासुमा आत्मनिर्भर बनाउन शर्तमा दुई लाखसम्मको अनुदान सम्झौता, दुधको उत्पादन वृद्धि र बजारिकरणमा प्रोत्सहानका लागि प्रतिलिटर २ रुपैयाँ अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए । छाडा पशु चौपायाँको व्यवस्थापन, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन गरिएको पनि बताइएको छ ।

नगरपालिकाले जोखिमपूर्ण क्षेत्रमा रहेका जीर्ण रुखका हाँगा काटेर व्यवस्थापन गरेको, तानसेन ३ मा थोक कृषि बजार व्यवस्थापन, टँुुडिखेल व्यवस्थापन, १५ करोड ३० लाख ९ हजार ८७ रुपैयाँ बेरुजु फस्यौट, औद्योगिक ग्रामका लागि ८० लाख बजेट सुनिश्चित, पुरानो बसपार्क र तानसेन ५ कैलाशनगरमा सिटीहल निर्माणका लागि डिपीआरको काम भैरहेको साथै वनदेवी बसर्पाक निर्माणका लागि प्रक्रिया पूरा भएर सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । एक बर्षे कार्य प्रगति सार्वजनिक कार्यक्रममा पत्रकारहरुले दैनिक तानसेनको पर्यटन विकास, फोहोर व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुको संरक्षण र प्रयोग, पूर्वाधार विकास, कर्मचारी परिचालन लगायतका विषयमा सुझाव दिएका थिए । कार्यक्रममा आएका सुझावहरुको नगर प्रमुख श्रेष्ठले बजेट कम भएकाले सबै कामहरु चाहे अनुसार गर्न नसकिएको र सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने बताए । करका दायराहरु फराकिलो बनाउँदै लैजाने, श्रीनगरलाई व्यस्थित पार्क निर्माण बनाउने, टँुडिखेलमा नियमति रुपमा खेलकुद गतिविधी गराउने, होलाङ्दीको ढल निर्माणको आगामी बर्ष भित्र प्रदेश सरकार समक्ष योजना पेश गरेको नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिकाले खानेपानी समितिको चुनाव गरी नयाँ नेतृत्व ल्याउन पहल गरे पनि विभिन्न किसिमका बाधा व्यवधानहरु आएको, फोहोर मैला व्यवस्थापनमा सक्रिय भएर लागेको नगर प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा योजना शाखा प्रमुख विष्णु प्रसाद पौडेल, लेखा अधिकृत कौशलराज घिमिरेले उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रम प्रेस सल्लाहकार मुक्ति न्यौपानेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update