Shittalpati
रामपुरका अव्यवस्थितवासीलाई ‘लाल पुर्जा’, ६ सय १६ जग्गाधनीले पाए पुर्जा

हाम्रा संवाददाता
पाल्पा, रामपुरका अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । गत वर्षदेखि वितरण सुरु गरिएकोमा हालसम्म ६ सय १६ अव्यवस्थितवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

राष्ट्रिय भूमि आयोगले पहिलो चरणमा २ सय ६२ जनालाई पूर्जा वितरण गरेको थियो भने दोस्रो चरणमा ३ सय ५४ लाई दिएको छ । रामपुरमा ७ सय ८३ घर अव्यवस्थित रुपमा रहेका छन् । तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयहरुले विक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका जग्गाधनीहरुले ५० वर्ष पछि जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेका हुन् । २०२८/०२९ सालदेखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका यहाँका अव्यवस्थित जग्गाधनीहरुलाई अहिले राष्ट्रिय भूमि आयोगले जग्गा धनी पुर्जा प्रदान गर्दै आएको हो । २०५५ साल सम्ममा विक्री वितरण भएका रामपुर नगरपालिका ५, ६ र ७ का ७ सय ८३ वटा घडेरीलाई अहिले लाल पुर्जा वितरण गरिर्दै आइएको छ ।

दोस्रो चरणमा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले अबको २ वर्ष भित्र नेपाललाई भूमिहिनता र सुकुम्बासीमुक्त बनाउने गरी आयोगले काम गर्दै आएको बताए । देशमा भूमिहिनताको अन्त्यका लागि देश व्यापीरुपमा अभियान सञ्चालन भएको बताए । उनले भने, ‘स्थानीय तहहरुको सहयोग प्रर्याप्त भएको स्थितिमा आउने २ वर्ष भित्र सधैंका लागि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्यालाई अन्त्य गर्न, नेपाललाई भूमिहिनता र सुकुम्बासीमुक्त देश बनाउन लागि रहेका छौं ।’ भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउन, अव्यवस्थित बसोवासीहरुलाई तोकिएको शुल्क लिएर जग्गा उपलब्ध गराउनका लागि सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको उनले बताए । खड्काले भूमिहिनताको राष्ट्रिय अभियानको रुपमा आयोगले लाल पुर्जा तयार गर्ने, वितरण गर्ने लगायतका कामहरु देशव्यापी रुपमा गरिरहेको जानकारी दिए । खड्काले भने ‘देशमा ५० लाख भन्दा धेरै नागरिक भूमिहिनताको अवस्थामा रहेका छन् । अहिले देशैभरबाट साढे १३ लाख भन्दा बढी जनताले राष्ट्रिय भूमि आयोग समक्ष निवेदन पेश गरेका छन् । जसमध्ये ८ लाख ३६ हजार भन्दा धेरै निवेदनहरु कम्प्युटर प्रणालीमा इन्ट्री भएका छन् । १ लाख २५ हजार भन्दा धेरै कित्ता जग्गाहरु नापजाँच भैसकेको छ । २५ सय लालपूर्जा वितरण भैरहेको छ ।’ रामपुर नगरका भूमिहिन दलित ५७, भूमिहिन सुकुम्बासी ६१ र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको छ ।

राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले हालसम्म रामपुरमा ६ सय १६ वटा लाल पुर्जा वितरण गरिसकिएको बताए । लामो समयदेखिको अव्यवस्थित बसोवासीको समस्या अन्त्य भएको उनले बताए । अहिलेसम्म जग्गाधनी पुर्जा वितरणबाट १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलन भएको छ । हालसम्म ९४ रोपनी, १३ आना, २ पैसा ०९८ दाम क्षेत्रफलको जग्गाको पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग पाल्पाका विज्ञ सदस्य कृष्णप्रसाद अधिकारीले सबैको साथ र सहयोगले हाल सम्मको उपलब्धी प्राप्त भएको बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरपालिका आयोगलाई साथमा लिएर अघि बढेको बताए । उनले अहिले प्राप्त भएका जग्गा धनी प्रमाण पुर्जा प्रक्रियागत रुपमा दर्ता भएपछि मात्र जग्गाधनी ढुक्क हुने बताए । उनले प्राप्त जग्गाको श्रेस्ता कायम छिटो गर्न अनुरोध गर्दै अव्यवस्थित जग्गामा बनेका घरको अभिलेखिकरण नगरपालिकामा गर्न आग्रह गरे ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुरमा विद्यालय र तत्कालीन गाउँपञ्चायतले दिएको एउटा कागजको भरमा ठूलो लगानीमा ठूल्ठूला भवन निर्माण भइसकेका छन् । रामपुरलाई लाल पुर्जाविहीन सहरका रूपमा समेत चिनिन थालेको थियो । यहाँ प्रत्येक निर्वाचनको मुद्दा लालपुर्जा नै बन्ने गरेको थियो । ०४६ सालपछि काँग्रेस र तत्कालीन एमालेले अधिकांश समय सत्ता सञ्चालन गर्दै आए पनि यहाँका अव्यवस्थित बसोवासीले लालपुर्जा पाउन सकेका थिएनन् । विगतमा चुनावका बेला चर्चा हुने गरे पनि चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको थियो । घर जग्गाको लालपुर्जा नहुँदा करोडौं लगानी गरेर बनाएका घर सम्पत्तिको समेत मूल्यांकन हुन सकेको थिएन । जसका कारण यहाँका नागरिक अत्यन्त चिन्ति बनेका थिए । अहिले लालपूर्जा पाएपछि भने उनीहरु खुसी भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update