Shittalpati
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ । जागरूकरुपमा उठ्न पुगेका नागरिकहरुको स्वतःस्फूर्त भीडले कुनै अर्को जनआन्दोलनको आभास समेत दिइरहेको प्रतित हुन्छ ।

देश हाल आर्थिक संकटबाट उम्किनै नसक्ने ढङ्गले फसिरहेको बेलामा भ्रष्टाचारविरूद्धमा देशव्यापी विरोध प्रदर्शन र सभाहरु हुनु सामान्य कुरा पक्कै होइन । महँगी र बेरोजगारीसमेत चरम अवस्थामा रहेको समयमा यी विरोधहरु सडकमा पक्कै पनि त्यत्तिकै आएका होइनन् । रहरका लागि कोही पनि सडकमा आउँदैन । भ्रष्टाचारमा हुने ढाकछोपविरुद्ध नागरिक देशभर सडकमा निस्कनु सुखद् कुरा हो । निराशाले कुनै बदलाव ल्याउँदैन । बरु यो घातक छ । आक्रोश र असन्तुष्टि बढ्नु भने सुखद हो । विद्रोहले नयाँ सिर्जनाका लागि संघर्ष गर्न प्रेरित गर्छ । बरु खतरा कहाँनेर हुन्छ भने निरन्तरको आक्रोश अराजकतामा परिणत हुन सक्छ ।

निष्पक्ष सुनुवाइ भएन र ‘ठूलाबडा’हरू कारवाहीको दायरामा आएनन् भने आन्दोलनले जस्तोसुकै रूप पनि लिन सक्छ । आमनागरिक विद्रोही हुनुभन्दा पहिल्यै विवेकी राज्यले राम्ररी कुरा सुन्नुपर्छ । सम्बोधन गर्नुपर्छ । तर, नेपाल राज्य यस्तो कठोर बन्दै गएको छ कि यहाँ धनीमानी र पहुँचवालालाई केही हुँदैन भन्ने भाष्य स्थापित हुँदै गएको छ । भ्रष्टाचार र कुशासन यस्तो रोग हो जसले पूरै शरीर थिलथिलो पार्छ । जसलाई विश्वास गरेर अमूल्य मत दिइयो आज उनै र उनका आसेपासेहरुको हालीमुहाली बढ्दै जानु निकै दुर्भाग्यपूर्ण लाग्छ । सुशासन दिएर लोकप्रियताको मानक स्थापित गर्नुपर्नेमा कुशासन दिएर असक्षम सावित भैसक्दा पनि नेतृत्व तहले शिक्षा लिनै नसक्नु भने लाजमर्दो अवस्था हो । नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुको सत्य तथ्य छानविन भई दोषीहरूलाई कारवाही गरिनुपर्छ । भ्रष्टहरुलाई कारवाही नगरेसम्म न जनता सुुखी हुन्छ न त देशको विकास नै हुन्छ । यसर्थ भ्रष्टचारविरोधी अभियानमा सबै एक जुट बनौ र जारी आन्दोलनलाई सशक्त बनाऔं ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update