Shittalpati
तानसेनमा ‘वृत्ति विकास तथा रोजगार’ मेला हुँदै

पाल्पा, जिल्लाको तानसेन नगर सरकारले रोजगारी सिर्जना गर्ने उद्देश्यले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । नगर सरकारले नगर भित्रका नागरिकहरुसँग जोस, जागर, ज्ञान सीप भएर पनि बेरोजगार बस्नुु परेको अवस्थालाई मध्यनजर गर्दै रोजगार मेलामो आयोजना गरेको हो । मेला जेठ १२ गते मखनटोल तेर्सो सडकमा हुने छ ।

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न सक्ने बनाउनुु मेलाको उद्देश्य रहेको मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले बताए । उनले भने, ‘नगरप्रमुखको संयोजकत्वमा कार्यपालिकाको सम्पूर्ण टीम सहित मूल आयोजक समिति गठन गरिएको छ । यस मेलाले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरुलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्य राखेको छ । यहाँ सीप सिक्ने तरिका, सिकाईका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरु बारे जानकारीमूलक स्टलहरु रहने छन् ।’

तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले रोजगारीका लागि सीप सिक्न चाहने र सीप सिकिसकेका व्यक्तिहरुले रोजगारी प्राप्त गर्न मेला सहयोगी बन्ने विश्वास व्यक्त गरे । उन भने ‘किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो ।’ आफ्नो मार्ग पहिचान गर्न, दिगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसायअनुसारको जनशक्ति खोजी गर्न मेला आवश्यक रहेको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताइन् । मेला यही जेठ १२ गते बिहान १० देखि बेलुका ५ बजेसम्म हुने छ । मेलामा विभिन्न सीपमूलकका ३० बढी स्टलहरु रहने छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update