Shittalpati
रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण

पाल्पा, जिल्लाको रामपुरमा बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको अयोजना र कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले राजश्व र बजेटको स्रोत पहिचान गर्न नसक्दा स्थानीय तहको बजेट निर्माणमा प्रभाव परेको बताए । उनले स्थानीय तहमा आन्तरिक स्रोतको पहिचान गरी राजश्व संकलन गर्न नसक्दा सोँचे अनुसारको आन्तरिक आम्दानी गर्न नसकेको बताए । नगर प्रमुख थापाले संघतर्फको बजेट भए पनि समयमा खर्च हुन नसक्नु दुखद पक्ष रहेको उल्लेख गरे । अभिमुखिकरण कार्यक्रमले बजेट निर्माणमा अपनाउनु पर्ने प्रक्रिया,राजश्व संकलन, योजना सञ्चालन तथा भुक्तानी लगाएतका विषयमा उनले प्रष्ट पारेको बताए ।

कार्यक्रमको सहजिकरण गर्दै कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख सशीन्द्र खातिले पाल्पाका हरेक स्थानीय तहले अनुमान गरे भन्दा धेरै कम आन्तरिक आम्दानी गरेको बताए । योजना निर्माण , सञ्चालनसँंगै समग्र पालिकाको विकासमा प्रभाव पार्ने भन्दै आन्तरिक स्रोतको सही पहिचान गरी बजेट निर्माण गर्न आवश्यक रहेको उनले औल्याए । कार्यक्रममा कर राजश्व बृद्धि तथा पालिका र विभिन्न निकाय विचको अन्तर सम्बन्ध , आन्तरिक कर व्यवस्थापन ,योजना बजेट तर्जुमाका चरण , बजेटको पूर्व तयारी , बजेट सिमा निर्धारण गर्ने विधि लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update