Shittalpati
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला

गुल्मी, जिल्लाको कालीगण्डकी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । पालिका भित्रका प्रावि, निमावि र माविमा अध्यापन गराउने शिक्षकहरुका लागि पालिकाले दुई दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुको साथै परम्परागत शिक्षा प्रणालीलाई आधुनिक बनाउने उद्देश्यले तीनै तहका शिक्षकहरुलाई प्रशिक्षण दिइएको छ । पालिकाको शैक्षिक क्षेत्रलाई कस्तो बनाउने भन्ने विषय विद्यायका शिक्षकहरुमा निर्भर हुने भएकाले उनीहरुलाई आवश्यक प्रशिक्षण दिइएको पालिका अध्यक्ष बेदबहादुर थापाले बताए । उनले शिक्षकले समयको व्यवस्थापन गर्दै शिक्षण सिकाइलाई थप प्रभावकारी र जिम्मेवार बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

शिक्षण सिकाइ प्रक्रियालाई बालमैत्री वातावरणमा सरल, सहज,समय सापेक्ष एवं प्रविधि मैत्री बनाउनु अहिलेको आवश्यकता रहेको औल्याउँदै अध्यक्ष थापाले आफुुहरुले त्यसतर्फ विशेष योजना बनाएको बताए । विद्यार्थीको सिकाइमा कक्षा कोठाको व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने र त्यसमा कक्षा कोठाको उपयुक्त सजावट, बसाइको सही व्यवस्थापन, शैक्षिक सामग्रीको अधिकतम प्रयोग, शिक्षकको व्यवहार जस्ता कुराले प्रभाव पार्ने भन्दै त्यसमा ध्यान दिन शिक्षकलाई उनले आग्रह गरे ।

कार्यशालामा पालिका भित्रका ४४ सामुदायिक विद्यालयका ३ सय ५ जना शिक्षक शिक्षिकाहरूको सहभागीता रहेको शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले जानकारी दिए । प्रशिक्षणमा नेपाल शिक्षक संघका पूूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली, पूूर्व शिक्षक धनन्जय शर्मा अधिकारीले सहजिकरण गरेका थिए । कार्यशालामा सिकेका ज्ञान, सीपलाई कक्षाकोठामा उपयोग गर्ने सहभागी शिक्षकहरुले बताएका छन् । उनीहरुले आधुनिक शिक्षण विधिको धेरै भन्दा धेरै प्रयोग गरी शिक्षण गर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update