Shittalpati
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर

रामचन्द्र रायमाझी
पाल्पा, नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरूसमेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि पाल्पासहित देशभर भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । पाल्पाको तानसेन, बुटवल, काठमाडौंको माइतीघर, कास्कीको पोखरालगायतका स्थानमा भ्रष्टाचारविरोधी प्रदर्शन भइरहेका छन् ।

भ्रष्टाचारविरुद्ध प्रदर्शनले भ्रष्टाचारका घटनामा संलग्नलाई कारवाही गर्न सरकारलाई आत्मबल दिएको छ । कतिपय ठूला भ्रष्टाचारका घटनामा संलग्नलाई विगतमा सरकारले दलीय सहमतिमै जोगाउने प्रवृत्ति रहेकाले जनस्तरबाटै भ्रष्टचारविरुद्ध आवाज उठ्न थालेकाले पनि भ्रष्टहरुलाई कारवाही गर्न सरकारलाई थप बल पुुगेको हो । यसलाई सरकारले अवसरका रुपमा लिन जरुरी छ । मानवअधिकार तथा शान्ति समाज पाल्पाले कुशासन र दण्डहीनता विरुद्ध मंगलबारदेखि तानसेनका विभिन्न स्थानमान विरोध प्रदर्शन गर्दै सरकारलाई दवाब सिर्जना गरेको छ । पहिलो दिन तानसेनको शितलपाटीमा नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको शान्ति समाजले बुधबार जिल्ला प्रशासन अगाडि विरोध प्रर्दशन गरेको हो । सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव बेचबिखन गर्नेलाई कारवाही गर लगायतका माग राख्दै शान्ति समाजको अगुवाईमा, विद्यार्थी, राजनीतिक दल, नागरिक समाज लगायतका व्यक्तिहरु प्रर्दशनमा उत्रिएका छन् । बुधबार भएको विरोधपछिको कोणसभालाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति कृष्ण रावलले सबै किसिमका भ्रष्टाचार काण्डको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । उनले दोषिमाथि कारवाही नभए आफुुहरुले थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । रावलले शिर्ष नेताहरुको सम्पति छानविन गर्न पनि सरकारलाई आग्रह गरे । राजनीतिक दलहरुकै कारण लोकतन्त्र कमजोर बन्दै गएको भन्दै उपसभापति रावलले यसतर्फ सबै सचेत हुनुुपर्ने बताए । उनले भने,‘लोकतन्त्र कमजोर भए, राजनीतिक दलहरु समेत कजमोर बन्दै जाने छन् ।’ कार्यक्रममा समाजका केन्द्रीय सदस्य अरुण ज्ञवाली, हिन्दुु महासंघ पाल्पाका नेता धर्मचन्द्र नेपाल, समाजका कार्यवाहक सभापति सन्तरवीर बराल, सदस्य केशरी बस्नेत लगायतले दोषीलाई छिटो भन्दा छिटो कानुुनी कारवाही गर्नुपर्ने माग गरे ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ रकम ठगी प्रकरणमा राजनीतिक उच्चपदस्थ व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि भ्रष्टाचारविरोधी प्रदर्शन बढ्दै गएको छ । शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी,उनका छोरा सन्दीप रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १३ जना पक्राउ परिसकेका छन् । यस्तै यो प्रकरणमा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र खाणकी पत्नी मञ्जुको नाम पनि जोडिएको छ । उच्च राजनीतिक तहबाटै भ्रष्टाचार हुने गरेको भन्दै देशैभर दलका नेताविरुद्ध नारा लागेको छ । युवापुस्ता थोरै भए पनि आशावादी बनेर प्लेकार्ड बोक्दै सडकमा प्रदर्शन गर्न निस्किएका छन् । अहिले भ्रष्टाचारविरुद्ध जे जस्तो प्रदर्शन भइरहेको छ, यसले सरकारलाई पनि भ्रष्टाचारविरुद्ध अघि बढ्न प्रेरणा दिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update