Shittalpati
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?

पाल्पा, यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनको भाडा घटाएको छ । डिजेलको मूल्य घटेकाले गाडी भाडामा पनि समायोजन गरिएको विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा यात्रुवाहक सवारीसाधनको कम्तीमा ३.२ प्रतिशत भाडा घटाइएको जनाएको छ । त्यस्तै, मालवाहक सवारीसाधनको पहाडी बाटोमा ४.१९ प्रतिशत र तराई–मधेशमा ४.६५ प्रतिशत भाडा घटाइएको विभागले जनाएको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ८४ भाडादर कायम भएको छ । यस अघि ९ सय १३ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–हार्थोक (पाल्पा)का लागि ९ सय २४ भाडा दर कायम भएको छ । यहाँ यस अघि ९ सय ५५ रुपैयाँ रहेको थियो । काठमाडौं–तम्घासको भाडादर एक हजार दुई सय ८ कायम गरिएको छ । यस अघि यो रुटमा एक हजार दुुई सय ४८ रुपैयाँ रहेको थियो । यस्तै कलैया–तानसेन, पाल्पा ७ सय ११ कायम गरिएको छ । यस अघि ७ सय ३५ थियो । काठमाडौं–पोखरा–तानसेन, कपिलवस्तु– नारायणगढ एकतर्फी एक हजार ७ सय ३ कायम भएको छ । यस अघि यस रुटमा एक हजार ७ सय ५९ रहेको थियो । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भाडा घटाएको हो । प्रदेश सरकारले भने यसैका आधारमा भाडा समायोजन गर्ने छन् । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्ने व्यवस्था गरिएको छ ।

नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको हो । निगमले डिजेलको भाउ १ सय ५५ रुपैयाँ कायम गरेको छ । यसअघि डिजेलको मूल्य १ सय ६५ रुपैयाँ तोकिएको थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update