Shittalpati
स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध

कृष्ण पोखरेल
पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बाहिर पर्ने सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न अनुरोध गरेको छ । महासंघ पाल्पाको मंगलबार बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको निर्यण अनुसार आगामी १० दिन भित्र नयाँ मापदण्ड भन्दा बाहिरका सदस्यहरुलाई स्वघोषणा गरी सदस्यता त्याग गर्न अनुरोध गरेको हो ।

स्वघोषणाबाट सदस्यता त्याग गरेका सदस्यहरुलाई विशेष सम्मान गरी विदाई गर्ने पत्रकार महासंघ पाल्पाले जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले जारी गरेको सदस्यता शुद्धिकरणमा राजनीतिक दलको पदाधिकारीमा बसेका व्यक्तिहरु, अस्थायी वा स्थायी, करारमा सरकारी तलव सुविधा लिएका व्यक्तिहरु पर्दछन् । पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार शाखाले निर्यण कार्यान्वय गर्नुपर्ने भएकोले सोही अनुसार पहिलो चरणमा राजनीतिक दलका पदाधिकारी तथा सरकारी तलव सुविधा खाने सबै पक्षका सदस्यहरुलाई सदस्यता त्याग गर्न अनुरोध गरेका हौं, यदी १० दिनभित्र स्वघोषणा नभएमा महासंघको केन्द्रिय अनुसार पाल्पा शाखाले सदस्यता शुद्धिकरण अभियान शुरु गर्ने अध्यक्ष रेखीराम रानाले जानकारी दिए । पाल्पा पत्रकार महासंघमा हाल १ सय २ जना सदस्यहरु रहेका छन् ।

यसैगरी पत्रकार महासंघ पाल्पाले पाल्पाको विकास निर्माणको विषय तथा जनप्रतिनिधीहरुको एक बर्षे कार्यकालको समीक्षा गर्न जिल्लाका १० वटै स्थानीय सरकार र विकासे तथा सेवा कार्यालय संग नियमित रुपमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्यण भएको सचिव यज्ञमुर्ति तिमिल्सीनाले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update