Shittalpati
अनियमितता रोकौं

राजनीति र केही ठूला दलहरुका नेताका क्रियाकलापका कारण देखापरेका अनियमितताका प्रसंगहरु अहिले जताततै सर्वत्र चर्चित छन् । नेपाली भूराजनैतिक वृतमा अहिले नैरास्यताका बादलहरु मडारिएका छन् । समस्या उत्पन्न गर्ने र समाधान गर्ने दायित्ववोध प्रति प्रश्नचिन्ह खडा भएका छन् । देशले असल राजनीतिज्ञ पाउन कठिन भएको छ । जब–जब संकटका दायराहरु फराकिला हँुदै जान्छन् तब–तब नेपाली भूराजनैतिक अवस्था प्रति जनस्तरबाटै चर्चा र परिचर्चा शुरु हुने क्रम बढेर जान्छ । नेपाली काँग्रेस, एमाले र नेकपा माओवादीका नेताहरुका चरित्रमा सुधार आउने आशमा बसेका नेपाली जनताहरु अहिले निराश भएका छन् । अब पार्टी भन्दा पनि जनस्तरबाटै अर्को तेस्रो जनआन्दोलनको आँधी वेहरी शुरु हुने होकि भन्ने चिन्ता र चासो बढिरहेको अवस्था छ अहिले । आरोप र प्रत्यारोपका बीच राजनैतिक चरित्रमै अकल्पनीय रुपमा ह्रास आउँन थाले पछि नेपाली राजनीतिको अर्थ अनर्थतावाद तर्फ उन्मूख भएको होकि भन्ने चिन्ता बढिरहेको छ ।

नक्कली भुटानी शरणार्थी अमेरिका पठाउने काममा भएका संस्थागत भ्रष्टाचारले अहिले देश रोइरहेको छ । अनुसन्धानका प्रक्रियामा धेरै राजनेताहरु प्रहरीको भन्दामा हुनुहुन्छ, कतिपय घोक्रो सुकाई–सुकाई कसम माथि कसम खादै, आफुलाई पवित्रताको प्रमाणिकरणमा लागि पर्नु भएको अवस्था मुलुक र जनताका लागि कुनै हिसावले पनि ठीक होइन । त्यस कारण अब नेपाली राजनैतिक युगको तेस्रो युग या पुस्तान्तरणको युग आउने प्रवल सम्भावना पनि देखापरेका छन् । अनियमितताको छहारीमा बसेर नियमितताका भाषण ठोक्ने राजनेता नै भ्रष्टाचारको दलदलबाट बाहिरिन नसक्नु आफैमा विडम्वना हो । जनतालाई विकल्पको खोजी गर्न बाध्य बनाउने कार्यमा पनि कतिपय दलका केही नेताहरुका क्रियाकपाल अभिशाप भएका छन् । यी सबै समस्याको समाधान भनेकै गल्ती गर्नेलाई कायर्बाही गर्ने र बाँकीले गलत क्रियाकलापमा सहभागिता नहुने कुरामा सबै पक्षको ध्यान जानुपर्नेमा त्यो पनि भएन भन्ने जनगुनासो सामाजिक रुपमै व्यवहारिक नभएसम्म जनताले पत्याउन सक्ने अवस्था छैन । हिजो देश बिग्रियो भनेर चिन्ता गर्नेहरु आज बिगार्ने खेलका नाईके बन्न खोजे पछि प्राप्त हुने परिणाम आफै पलदायी हुन सक्दैनन् । त्यसकारण अनियमितताको आरोप लागेका नेतालाई कार्यवाहीको दायरा फराकिलो बनाऊ र गलत नभएकालाई गलत गर्ने कार्य गर्नुहुँदैन भन्ने चेतनाको विकासमा लाग्न आग्रह गरौं, अनि मात्र सुन्दर नेपालका सभ्य जनताको परिकल्पना पूरा गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update