Shittalpati
कुनै दवाबले अनुसन्धान प्रभावित नहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरू धमाधम पक्राउ पर्न थालेपछि देशमा एउटा तरंग सिर्जना भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि अहिले पक्राउ परेका छन् । देशका उच्च ओहादामा पुगेका व्यक्तिहरु नै भ्रष्टाचारमा संलग्न भएको घटनाले विश्व जगतमा नराम्रो सन्देश गएको छ । यो अत्यन्त दुखको कुरा हो । हाई प्रोफाइलका व्यक्तिहरु समेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि मुलुकमा भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । देशका ठूला–ठूला शहरमा यतिबेला नागरिक अगुवाहरूको अगुवाइमा भएको भ्रष्टाचारविरुद्ध प्रदर्शनले भ्रष्टाचारको घटनामा संलग्नलाई कारवाही गर्न सरकारलाई आत्मबल दिएको छ । कतिपय ठूला भ्रष्टाचारका घटनामा संलग्नलाई विगतमा सरकारले दलीय सहमतिमै जोगाउने प्रवृत्ति रहेकाले जनस्तरमा एकखालको आक्रोश व्याप्त छ ।

अहिले पनि सरकारलाई विभिन्न शिर्ष नेताहरुबाट दवाब सिर्जना भएको छ । सरकार कुनै पनि हातमा दवाबबाट डराउनु हुँदैन । यद्यपि, अनुसन्धानमा गृह मन्त्रालय र प्रहरीको सक्रियताले केही आशा जगाएको देखिए पनि त्यसमा राजनीतिक तवरबाट दवाब दिने र हस्तक्षेप हुन सक्ने खतरा भने यथावत् नै रहेको छ । एकपछि अर्को रुपमा ठूलो नामहरु जोडिँदै गएको परिप्रेक्ष्यमा यस प्रकरणको अनुसन्धान कहाँ पुगेर टुङ्गिएला ? सोचनीय विषय भएको छ । यो आज देशको मात्रै मुद्दा नभएर त्यसले अन्तर्राष्ट्रिय रुप नै लिइसकेको पक्षलाई सबैले मनन् गर्न जरूरी छ । नक्कली शरणार्थी प्रकरणले नयाँ मोड लिँदै गएपछि अहिले शीर्ष नेताहरुको बैठकमात्रै नभएर दलका ठूला नेताहरुको समेत छलफलले तीव्र रुप लिइरहेको छ । यसबाट अनुसन्धान प्रभावित हुने खतरा भने बढेर गएको छ । प्रहरीले गरिरहेको अनुसन्धान टुङ्गोमा नपुग्दै यो प्रकरण अख्तियारलाई जिम्मा लगाइयो भने न्याय फेरि पनि मर्ने अवस्था आउनेछ । तसर्थ प्रहरीले बढाएको अनुसन्धानलाई कोही कसैको दवाबमा प्रभावित पारिनु हुँदैन । सबैले अनुसन्धानमा सहयोग गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update