Shittalpati
गर्मीमा स्वास्थ्यको ख्याल गरौं

गर्मी बढेको छ । यो मौसमसँगै विभिन्न रोगहरू बढ्ने जोखिम पनि हुन्छ । जाडो यामभन्दा गर्मी याममा रोगहरूबाट बच्न मुस्किल हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । गर्मी बढेसँगै पखला लाग्ने, खानेकुरा नपच्ने, फूड प्वोइजन हुने, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने गर्दछ । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । अर्कोतिर झिँगा फैलने, लामखुट्टेले टोक्ने, साङ्लाले दुख दिने पनि गर्मी याममै हो । गर्मी बढ्न थालेसँगे अहिले विभिन्न अस्पतालहरुमा विरामीहरुको समेत भिड देखिन थालेको छ । सानो कुरामा ध्यान नदिनाले विभिन्न किसिमका रोगहरूको सिकार बन्नु परेको छ । रोग लाग्नबाट बच्न समयमै ध्यान पु¥याउनु आवश्यक छ । यद्यपी मौसमको खराबीका कारण रोग लाग्ने होइन, हामीले मौसम अनुसार आफुलाई तयार राख्न नसकेका कारण मात्र यस्तो अवस्था भोग्नु पर्दछ । गर्मी–जाडो प्राकृतिक चक्र हो । यो बर्षौदेखि निरन्तर र नियमित छ । अतः गर्मीमा पनि आफुलाई कसरी फिट एन्ड फाइन राख्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ ।

गर्मी याममा लाग्न सक्ने सम्भावित रोगहरुबाट छुटकारा पाउनका लागि मानव आफैले सतर्कता अपनाउनु पर्छ । यो मौसममा पर्याप्त पानी वा झोलयुक्त पदार्थ पिउने, मौसमी सब्जी, फलफूलको सेवन गर्ने, सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुरा नखाने, सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगर्ने, घरबाहिर निस्कदाँ पुरै शरीर ढाक्ने पहिरन लगाउने, सरसफाईमा विशेष ध्यान दिने, घर, आँगन वा आफु बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर राख्ने जस्ता कुराहरु गरियो भने धेरै रोगहरुबाट बच्न सकिन्छ । पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु छन् भने त्यहीबाट लामखुट्टे, झिँगा, साङ्ला फैलन्छ । यी रोगका स्रोत हुन् । लामखुट्टेको टोकाइले जिउमा चिलाउने मात्र होइन, रगतको माध्यामबाट विभिन्न रोग सार्ने भय पनि हुन्छ । झिँगाले खानेकुरालाई दुषित बनाइदिन्छ । साङ्लाले पनि खानेकुरामा हानिकारक ब्याक्टेरिया सार्ने जोखिम हुन्छ । त्यसैले यस्ता कुराहरुमा पनि ध्यान पुर्‍याउन सकियो भने स्वस्थ रहन सकिन्छ । यसर्थ गर्मी मौसम बढ्दै गएकाले स्वास्थ्यको ख्याल गर्न विशेष किसिमको सर्तकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update