Shittalpati
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा

पाल्पा, जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।

भवन अभाव सेवा सञ्चालन हुुन सकेको थिएन । अहिले भवन बनेसँगै बहिरंग सेवा सुुरु गरिएको छ । सेवाको एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरिएको हो । सो अवसरमा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ । सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले आयुर्वेद औषधालयको भौतिक संरचना तयार भए पनि सेवा सञ्चालनका लागि चुनौती रहेको बताए । भवन अनुसारको स्तरिय सेवा प्रदान गर्नका लागि आवश्यक जनशक्ति र उपकरणको अभाव रहेको भन्दै यसको व्यवस्थापन गर्न तिनै तहको सरकारको समन्वय आवश्यक रहेको उनले उल्लेख गरे । साथै उनले लुम्बिनी प्रदेश कै नमुना आयुर्वेद औषधालयको रुपमा स्थापित गर्न सबैले छलफल, सहकार्य र समन्व्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा महाशाखाका प्रमुख डाक्टर पुष्पराज पौडेलले अहिले विश्वमै मानिसमा नसर्ने रोग वृद्धि भई रहेको उल्लेख गर्दै यस्ता नसर्ने रोगको निदान तथा उन्मूलनका लागि आयुर्वेद चिकित्साको महत्वपूर्ण भूूमिका हुने बताए । उनले आयुर्वेदले मानिसको स्वास्थ्यलाई स्वस्थ रुपमा बचाई राख्ने भन्दै आयुर्वेद औषधालयबाट प्राप्त सेवाको सदुपयोग गर्न आग्रह गरे ।

यस्तै नरदेव आयुर्वेद चिकित्सालयका बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ डाक्टर बुद्धि प्रसाद पौडेलले देशका अधिकांश आयुर्वेद औषधालयमा तल्लो तहका कर्मचारीले मात्रै सेवा प्रदान गर्दै आएको भन्दै विषेशज्ञ सहितको जनशक्ति आवश्यक रहेको बताए । आयुर्वेद सेवाले नागरिकको स्वास्थ्य र राज्यको खर्चभार बचाउन समेत मद्दत गर्ने उनले धारणा व्यक्त गरे । यसैगरी लुम्बिनी प्रदेश आयुर्वेद स्वास्थ्य निर्देशनालयका निर्देशक गणेश प्रसाद सापकोटाले आयुर्वेद औषधालय सञ्चालनका लागि स्थानीय तहले सबैसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । रामपुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामहरि पाण्डेले आयुर्वेदले मानव जीवन र स्वास्थ्यमा महत्पूर्ण भूमिका खेल्ने भन्दै सुविधा सम्पन्न भवनबाट सर्वशुलभ सेवा प्रदान गर्न आवश्यक रहेको औल्याए । यस्तै नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले आयुर्वेदिक औषधि प्रति मानिसको विश्वास कम भए पनि यसले रोगलाई निर्मूल पार्ने भएकाले आयुर्वेदिक औषधि र सेवाको महत्व दिन प्रतिदिन बढ्दै गएको उल्लेख गरे । कार्यक्रममा रामपुर नगरपालिका–७ का अध्यक्ष दोवराज तिवारीले आयुर्वेद र योग शिक्षाको माध्यमबाट नगरवासीको स्वास्थ्यलाई थप मजबुत बनाउनु पर्ने भन्दै गुणस्तरिय सेवाको निरन्तरताका लागि सबैंले ध्यान दिनुपर्ने बताए । यस्तै ३ का वडा अध्यक्ष दामोदर पाठकले औषधायबाट सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे । औषधालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष तथा ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रामपुर आयुर्वेद औषधालय यस क्षेत्रको सभ्यतासँंग जोडिएको भन्दै यसको प्रवद्र्धन र सञ्चालनका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा रामपुर आयुर्वेद औषधालयका प्रमुख चेमन प्रकाश पोखरेलले आयुर्वेद सेवा प्रति मानिसको विश्वास बढ्दै गएको र दिन प्रतिदिन सेवा लिन आउने सेवाग्राहीको संख्यामा पनि वृद्धि भई रहेको बताए । सोही अवसरमा रामपुर नगरपालिका र पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर समेत भएको छ । शिविरमा पाल्प, स्याङ्जा,तनहुँ लगायतका स्थानबाट १ सय ६८ जनाले पञ्चकर्म सहित विभिन्न रोगको चेक जाँच तथा उपचार गराएका छन् । शिविरमा निःशुल्क रुपमा आयुर्वेदिक औषधि वितरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update