Shittalpati
बगनासकालीको बसाई : २२ महिनामा २२ काम

विष्णु घर्ती ‘भनभनेली’
पाल्पाको बगनासकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा सम्वतले ३ वर्ष, आ.व.ले २ वर्ष, महिनाले २२ महिना, दिनले ६ सय ५१ दिन, (१ वर्ष ९ महिना १३ दिन) सार्वजनिक सेवाप्रवाह सम्बन्धी कार्यसम्पादनमा गाउँपालिकाका आम नागरिक, जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारीहरूसँग समन्वय, सम्पर्क, सहजीकरण र सहकार्यमा आफूलाई समर्पित गर्दै इमान्दारीता र जवाफदेहीतासहित बगनासकालीको समग्र श्रीवृद्धिमा लाग्ने सु–अवसरले मलाई अत्यन्तै प्रफुल्लित बनाएको छ ।

बगनासकाली गाउँपालिकाका प्रथम अध्यक्ष कृष्णप्रसाद बस्यालज्यू लगायत उपाध्यक्ष, प्रवक्ता, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरूलाई यस क्षणमा विशेष आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछुु । किनकि मलाई समग्र प्रशासनिक नेतृत्व गर्न उत्साहित गर्दै जनताप्रति समर्पित हुने उत्प्रेरणा प्रदान गर्नुभई गाउँपालिकालाई जिल्लाकै नमूना तथा अग्रणी गाउँपालिकाको रुपमा पहिचान राख्ने अभियानमा निरन्तर लाग्न सफल भयौँ । त्यसैगरी वर्तमान गाउँपालिकाका अध्यक्ष श्री सरस्वती दर्लामी चिदीज्यू लगायत उपाध्यक्ष, प्रवक्ता, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरूमा यस गाउँपालिकाको उचाइलाई अझै माथिल्लो स्तरमा लैजान उच्चतम योगदान रहँदै आयो । किनकि समृद्ध गाउँपालिका निर्माणमा लाग्नका लागि विभिन्न खालका जनमुखी अभियानहरूको सफलतम् प्रयोग गर्यौँ । कार्यालय व्यवस्थापन, सुशासन र सेवाप्रवाहमा नविनता, सरलता र निरन्तरताका लागि हरबखत उच्च साथ दिनमा तल्लीन भइरहने गाउँकार्यपालिका को कार्यालयका विषयगत शाखाका प्रमुख सहायक एवम् सहयोगी सम्पूर्ण कर्मचारीहरु वडा सचिव सहायक एवम् सहयोगी सम्पूर्ण कर्मचारीहरु स्वास्थ्य संस्थाका प्रमुख सहायक एवम् सहयोगी सम्पूर्ण कर्मचारीहरु प्राविधिक सेवातर्फका सम्पूर्ण कर्मचारीहरु आयुर्वेद कृषि तथा पशुसेवातर्फका सम्पूर्ण कर्मचारीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

त्यसैगरी विकास निर्माणमा समन्वय सार्वजनिक सेवाप्रवाह र स्थानीय प्रशासनमा अमूल्य सल्लाह सुझाव र मार्गदर्शन प्रदान गर्नुहुने आदरणीय प्रमुख जिल्ला अधिकारीज्यूहरू योगेन्द्र प्रसाद पाण्डे जगन्नाथ पन्त बन्धु प्रसाद बास्तोला, सुरक्षा निकायका प्रमुखज्यूहरू, राजनीतिक दलहरू कार्यालय प्रमुखहरू नागरिक समाज कर्मचारी मिलन केन्द्र बगनासकाली पत्रकार समूहलगायतका सञ्चारकर्मीज्यूहरू गुल्मेली संगम पाल्पा आदिवासी जनजाति महासंघ पोखराथोक साहित्य संगमलगायत साहित्यिक मनहरू अन्य गापाका समकक्षी मित्रहरू गाउँपालिकावासी नागरिकहरुमा हार्दिक आभार व्यक्त गर्दछु । मेरो पदीय जिम्मेवारीबाट यस गाउँपालिकामा स्थानीय तहको प्रशासन समन्वय र सेवाप्रवाह गर्ने क्रममा गाउँपालिकाको संस्थागत वृहत्तर हितार्थ समर्पित भई कार्यसम्पादन गर्ने क्रममा कोही कसैको चित्त नबुझेको रहेछ भने व्यक्तिगत हितका लागि नभएको बुझाई रहने छ भन्ने अपेक्षा गरेको छु । आगामी दिनहरूमा अप्रत्यक्ष रुपमा भए ता पनि हजुरहरूको सेवामा समर्पित हुन पाउने अपेक्षा गर्दै यहाँहरूको न्यानो सद्भाव माया र सामिप्यता रहने छ । बगनासकाली बसाइका सन्दर्भमा आफ्नै पहलमा सम्पादित (२२ महिनामा २२ वटा काम) । केही नविनत्तम तथा स्मरणीय क्रियाकलापको सिर्जनात्मक अगुवाई :
१) वार्षिक कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अध्यक्ष र प्रप्रअ तथा प्रप्रअ र सबै कर्मचारीबीच कार्यसम्पादन करार संझौता,
२) उपभोक्ता समितिका लागि वडातहमै आयोजना संझौता र बैंक खाता सञ्चालन,
३) गाउँपालिकाको समग्र पहिचान सहितको प्रतिक चिन्ह (लोगो) निर्माण सम्झनाको उपहार र व्याच र दैनिक कार्यसम्पादनमा यसकै प्रयोग,
४) कार्यपालिकाको कार्यालयमा रजिष्टर हटाई विद्युतीय हाजिरी प्रयोग र व्यवस्थापन,
५) जनतासँग जनप्रतिनिधि र बालमैत्री रेडियो कार्यक्रम प्रारम्भ,
६) चौमासिक समीक्षा वार्षिक सार्वजनिक सुनुवाई, समीक्षा र विषयगत स्टाफ बैठक,
७) कार्यालयको वेबसाइट र सामाजिक सञ्जाल नियमित अद्यावधिक तथा सूचनाको हकले निर्दिष्ट गरेको स्वतः प्रकाशनको नियमित प्रकाशन,
८) प्रथम कार्यकालमा पारित सबै कानुन (४८ वटा) को एकीकृत कानुन संग्रह निर्माण शुरूदेखि २१ वटा मात्र राजपत्रमा प्रकाशन भएकोमा बाँकी अन्य सबैलाई राजपत्रमा प्रकाशन हालसम्म ७६ वटा कानुनहरू पारित,
९) कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कार्यान्वयन
१०) खरिद इकाई गठन तथा वार्षिक खरिद योजना निर्माण,
११) गापाको दीर्घकालीन सोच (नारा) परिमार्जन गरी सजिलो र छोटो रुप प्रदान,
१२) कार्यालय कार्यकक्ष र परिसर थप व्यवस्थापन सौन्दर्यीकरण तथा शुक्रबारीय सरसफाई,
१३) गापा कार्यालय वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवाहरूको एकीकृत सार्वजनिक सेवाप्रवाह बडापत्र प्रकाशन,
१४)मासिक तथा चौमासिक कार्यप्रगति विवरण कार्यपालिका बैठकको निर्णय वेबसाइट र बगनासकाली आवाजमा प्रकाशन तथा बगनासकाली इ–बुलेटिन प्रकाशन,
१५) लिजामा जिल्लामा तेस्रो र देशमा ३२ स्थान तथा FRA मा उल्लेख्य रुपमा सुधारात्मक नतिजा प्राप्त १६) सेवाग्राही सन्तुष्टी सर्भेक्षण गरी कार्यालयको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन पहल,
१७) दैनिक १० बजे राष्ट्रिय गानको प्रयोग तथा मासिक आय–व्यय विवरण सार्वजनिक,
१८) आर्यभञ्ज्यामा आयुर्वेद कृषि र पशु सेवालाई समेटेर एकीकृत सेवा इकाई प्रारम्भ,
१९) सूचना प्रकाशनमा एकरुपता अधिकांश वेभसाइट र सूचना पार्टीमा राख्ने व्यवस्था,
२०) कर्मचारी स्वमूल्यांकन नतिजा सार्वजनिक गर्न प्रारम्भ,
२१) साहित्यमा बगनासकाली प्रकाशन समन्वय पाल्पामा लेखन र सिर्जना विमोचनमा सहजीकरण बगनासकाली आवाज बजेट पुस्तिका डायरी र शैक्षिक भित्ते पात्रोलाई परिमार्जन,
२२) पहिलो पटक वडास्तरीय एकीकृत घुम्ती शिविर सञ्चालन (विभिन्न ९ वटा सेवाहरु समावेश)
(बगनासकाली गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा रहेका घर्ती हाल लुुम्बिनी प्रदेश मुख्य मन्त्रीको कार्यालयमा सरुवा भएका छन् ।)

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update