Shittalpati
रेसुङ्गाबाट नियमित उडान

हाम्रा संवाददाता
गुल्मी, गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान थालिएको छ । पटक–पटक उडान परीक्षण गरिए पनि नियमित उठान हुन सकेको थिएनन् । शुक्रबारदेखि भने रेसुङ्गा–काठमाडौं नियमित उठान हुन थालेको हो ।

नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले शुक्रबार व्यवसायिक उडान गरेको हो । काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा सो जहाज उडेको थियो । सो जहाजले चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा आएको थियो । उसले रेसुङ्गाबाट फर्कदा १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको छ । अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ । रेसुङ्गा विमानस्थलबाट कम्तीमा ४७ मिनेटमा काठमाडौं पुगिने छ । तम्घासबाट काठमाडौं पुग्न सहज भएको अवस्थामा सडक यात्राबाट कम्तीमा १३ घण्टा लाग्छ । नेपाल वायुसेवा निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएकोमा खुसी व्यक्त गरे ।

उडानमा पहिलो पटक यात्रा गरेका रेसुङ्गा नगरपालिका–४ का धनिश्वर गौतमले पनि यात्रा निकै आनन्दपूर्ण रहेको बताए । उनले आफ्नी बिरामी आमालाई काठमाडौंमा उपचार गराएर घरमा ल्याउने क्रममा जहाजको यात्रा गरेका थिए । रेसुङ्गा विमानस्थल सञ्चालन हुनुपूर्व गुल्मी जिल्लावासीले रुपन्देहीको भैरहवासम्म गाडीमा र त्यहाँबाट हवाई जहाज चढेर काठमाडौं जाने गर्दथे । काठमाडौंबाट फर्किंदा पनि भैरहवासम्म हवाईजहाजमा र त्यसपछि झण्डै ५ घण्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता थियो । नियमित उडानसँगै त्यो बाध्यता हटेको छ । अब जिल्लाबाटै नियमित उडानपछि गुल्मेलीले राहत महशुस गरेका छन् । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको हवाईजहाजको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ । लामो समयको प्रयासपछि नियमित उडान गराउन सफल भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । ‘नियमित हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ’, उनले भने, ‘नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।’

उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । यहाँ यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको पक्की धावनमार्ग रहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update