Shittalpati
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल

कृष्ण पोखरेल
पाल्पा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका छन् । देशका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरुमा ठूलो लगानी गर्दै आएका ढकालले स्थानीय सरकाले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए तानसेन र आसपास क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका हुन् ।

उनले आइतबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं पाल्पा महोत्सवलाई समापन गर्दै पर्यटकीय क्षेत्रमा लगानीको वातावरण सिर्जना गरिदिए आफुले लगानी गर्ने बताए । अध्यक्ष ढकालले भने ‘तानसेन आसपासका पर्यटकीय गतिविधीमा केन्द्रीत रहेर लगानी गर्न तयार छु,त्यसका लागि आवश्यक स्थानको तानसेन नगरपालिका र यहाँका गाउँपालिकाले व्यवस्थापन मिलाइनुुपर्छ ।’ उनले नीजी क्षेत्र र सरकार मिलेर अहिले आर्थिक संकट समाधान गर्नुपर्नेमा जोड दिए । ‘अहिले देश चरम आर्थिक संकटमा गुर्जिएकाले आर्थिक चलयमान गर्न, व्यापार व्यवसाय बढाउन, निजीक्षेत्र र सरकार एक आपसमा मिलेर काम गर्नुपर्दछ’ अध्यक्ष ढकालले भने । मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरु विक्रि वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरु फष्टाउदै जाने भएकाले उद्योगी व्यवसायी संघ संस्थाले मात्र यस्ता अभियान सञ्चालन गर्नुपर्ने अध्यक्ष ढकालले बताए । अहिले देशमा उद्योग व्यबसायी भन्दा भिन्न प्रकृतिका विभिन्न क्लव संघ संस्थाहरुले पनि महोत्सव गरेर व्यक्तिगत फाईदा लिने काम भईरहेकाले राज्यले यस्ता संस्थाहरुलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए । पाल्पाको पर्यटन विकासमा लगानी गर्ने इच्छा अनुसार तिनाउ गाउँपालिकाको बसन्तपुरमा केवलकार निर्माण गरिरहेको र आगामी दुई हप्ता भित्र सञ्चालनमा आउने समेत अध्यक्ष ढकालले बताए ।

समापन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठ, राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्ष मधुदयाल सैजु, साँस्कृतिक कार्यक्रमका निर्याणक मण्डलकी शकुन्तला बज्राचार्य लगायतले आर्थिक मन्दिको समयमा मेला महोत्सवले केही भए पनि आर्थिक चलायमान बनाउनेमा विश्वास व्यक्त गरे । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रम संघका उद्योग उपाध्यक्ष उत्तम कुमार बज्राचार्यको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा भएको थियो । बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । महोत्सवमा स्थानीय उत्पादनसँगै, दैनिक घरयासी प्रयोगलाई चाहिने सरसमान, अटोमोवाइल्स, बैक तथा वित्तिय संस्थाहरुका ३ सय स्टलहरु राखिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा संघका सचिव विदुर घिमिरेले बताए । उनका अनुसार महोत्सव अत्यन्त उत्साजनक रुपमा सकिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update