Shittalpati
विश्व रेडक्रस दिवसको सन्दर्भ

आज मे ८ तारिक अर्थात् विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त गर्‍यो । तर नेपालमा भने वि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो । नेपालका ७७ वटै जिल्लामा रेडक्रसका शाखा, एक हजार बढी उपशाखा र ११ लाख बढी स्वयंसेवक आवद्ध छन् । तिनै स्वयंसेवकमार्फत रेडक्रसले आफ्नो सेवा दिँदै आएको छ । रेडक्रसले मानवीय सेवाका विविध आयामहरुमा काम गर्दै आए पनि यसको मुख्य लक्ष्य चाहिँ मानव उद्धार नै हो । मानव तथा प्रकृतिबाट घटित हरेक विपत्तिमा पीडितको उद्धार तथा जीवन रक्षा गर्नु रेडक्रसको मूल धर्म हो ।

रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो । यो मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचार–प्रसार गर्ने एउटा महत्वपूर्ण अवसर पनि हो । रेडक्रस अभियानले हरेक वर्ष विश्वभरी सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । रेडक्रसको जन्म पछाडी मानव पीडाको कथा जोडिएको छ । यो मानवतावादी संस्था स्थापनाकालदेखि नै हरेक प्रकारका मानवीय पीडा कम एकाग्र चिन्तनका साथ समर्पित रहँदै आएको छ । मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा एकता र विश्वव्यापकता जस्ता मुख्य सात सिद्धान्तमा अडिग यो पवित्र संस्था हो । तर पछिल्लो समय यो संस्था विवादमा छ । ५ वर्षदेखि नवीकरण नहुनुु र ८ वर्षदेखि साधारणसभा पनि हुन नसक्नुले रेडक्रसमाथि शंकाको दृष्टिकोणले हेर्न थालिएको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको र राजनीतिक हस्तक्षेप पनि उस्तै भएकाले सेवामूूलक संस्थाको रुपमा दर्जा पाएको रेडक्रसले अहिले बदनाम खेप्नु परेको छ । यो अत्यन्त दुखको कुरा हो । संस्था कुनै पनि स्वार्थमा नरुमाल्ली पारदर्शी र सेवामुखी हुनुपर्छ । हिजोको छविलाई कायम राख्ने दिशामा संस्थाले गम्भीर भएर सोच्न आवश्यक छ । रेडक्रस र स्वयंसेवकले प्रदान गर्ने अत्यावश्य मानवीय सहायता नै रेडक्रसकर्मीहरुको अमूल्य सम्पत्ति हो । यसर्थ यसलाई रेडक्रसकर्मीहरुले बचाई राख्न सके मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा यो औपचारिकतामै सिमित बन्न पुग्ने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update