Shittalpati
आज पाल्पा महोत्सवको अन्तिम दिन

पाल्पा, वैशाख १४ गतेदेखि सुरु भएको पाल्पा महोत्सवको आज अन्तिम दिन हो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको १३ औं पाल्पा महोत्सव आज सकिदै छ । महोत्सवको समय थपिनेमा धेरैले अनुमान गरे पनि आयोजकले मेला आजै समापन गर्ने जनाएको छ । पानीका कारण केही दिनको महोत्सव प्रभावित भएकाले महोत्सवको समय लम्बिन सक्ने आंकलन गरिए पनि मेला निर्धारित मितिमा समापन हुने मेला मूल आयोजक समितिले जनाएको छ ।

मेलामा शनिबार साझाँसम्म २ लाख २२ हजारले अवलोकन गरिसकेको महोत्सव प्रचार–प्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । उनका अनुसार सो अवधिमा करिव ७ करोड बराबरको कारोबार भएको छ । मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई आकर्षक बनाएको छ । अन्य समयमा भन्दा सांस्कृतिक कार्यक्रमको समयमा भने दर्शकको संख्या उल्लेख्य देखिन्छ । बजारबाट नजिकै रहेकाले कार्यालय समय सकिएपछि साँझतिर महोत्सव स्थलमा दर्शकको भीड बढ्दै जाने गरेको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्द्र प्रसाद ढकालले समापन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक घिमिरेले बताए । मेला हेर्न गाउँ–गाउँबाट दर्शकहरु तानसेन आएका छन् । मेलामा ३ सय स्टल रहेका छन् । जहाँ जिल्लामा उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरण घरेलु उत्पादनका साथसाथै स्थानीय उत्पादनका स्टल राखिएको छ । मेलामा पाल्पाली करुवा, रानीमहलको स्वरुप भित्र सचिवालय निर्माण गरिएको छ । जुन आकर्षणको रुपमा रहेको छ । पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षणमा महोत्सवले टेवा पुर्‍याउनेमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update