Shittalpati
घट्यो इन्धनको खपत

पाल्पा, पछिल्लो समय नेपालमा इन्धनको खपत घटेको छ । आर्थिक मन्दीका कारण इन्धनको खपत घटेको हो । अर्थतन्त्र चलायमान हुँदा इन्धनको खपत बढी हुने गरे पनि अहिले अर्थतन्त्र संकटग्रस्त भएकाले मागमा पनि कमी आएको छ ।

वर्षैनी बढ्दो क्रममा रहँदै आएको इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ । यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य दरमा घटेको छ । समग्रमा हवाई इन्धनबाहेक अन्य सबै इन्धनको आयात घट्दो दरमा देखिएको छ । तर, मूल्य वृद्धिका कारण आयातबापत विदेशिने रकमको परिमाण भने उस्तै छ । नेपाल आयल निगमकाअनुसार चालु आर्थक वर्ष २०७९/८० मा इन्धनको कुल आयातको परिमाण १६.४४ प्रतिशतले घटेको छ । तर, सबै खालका खनिज इन्धन आयातका लागि खर्च हुने पैसा भने ०.४२ प्रतिशतले बढेको छ । गत साउनदेखि १७ वैशाखसम्मको तथ्यांकअनुसार पेट्रोल आयातमा ८.७७ प्रतिशतको गिरावट आएको छ । निगमले यो अवधिमा ५ लाख ३२ हजार २०८ किलोलिटर पेट्रोल आयात गरेको छ ।

यसअनुसार मासिक औसत ५६ हजार २१ किलोलिटर पेट्रोल खपत भएको देखिन्छ । यस्तै डिजेलको आयात परिमाण २६.०९ प्रतिशतले घटेको छ । यो वर्ष कुल १० लाख ३६ हजार ६७ किलोलिटर डिजेल आयात गरेको निगमले मासिक औसत १ लाख ९ हजार ५९ किलोलिटर इन्धन आयात गरेको देखिन्छ । मट्टितेल आयात पनि घटेको छ । मट्टितेल आयातमा ४.१२ प्रतिशतले कमी आएको छ । साउनयता ९ हजार ६४ किलोलिटर मट्टितेल आयात हुँदा मासिक औसत ९५४ किलोलिटर मात्रै मट्टितेल भित्रिएको देखिन्छ । खाना पकाउने ग्याँसको आयात समेत घटेको छ । यो अवधिमा ग्याँसको आयात ३.१३ प्रतिशतले खुम्चिएको छ । आर्थिक मन्दीका कारण अर्थतन्त्र चलायमान नहुँदा इन्धन आयात घटेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update