Shittalpati
‘सूचना प्रविधिको प्रयोगबाटै विकास र समृद्धि हुन्छ’

पाल्पा, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सूचना प्रविधिको प्रयोगबाट विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । क्यान महासंघ पाल्पाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भ पारेर आयोजना गरेको सेमिनारलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नगर प्रमुख श्रेष्ठले सूचना तथा प्रविधिको प्रयोगबाट नै समाजका सबै अवयवहरूको विकास र समृद्धि सम्भव हुने भन्दै त्यसको सहि उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने ‘बदलिदो समयमा धेरै जसो दैनिकी प्रविधिसँग जोडिएकाले प्रविधिको प्रयोग विना जीवनयापनमा समेत कठिनाइ हुन्छ तर यसको प्रयोग सहज र सुरक्षित रुपमा गर्नुपर्छ ।’ क्यान महासंघ पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले क्यानले डिजिटल समाज निर्माणको अभियानमा विभिन्न सिर्जनशिल कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । महासंघले सूचना प्रविधिको प्रयोगबाट नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउने गरी देशभरका ४० हजार बढी सदस्यमार्फत अभियान चलाइरहेको उनको भनाई छ । कार्यक्रममा क्यान लुम्बिनी प्रदेशका अध्यक्ष भोजराज तिमिल्सीना, क्यान पाल्पा अध्यक्ष थमनबहादुर सारु लगायतले नागरिकलाई उपलब्ध गराइने सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । जिल्लास्थित विभिन्न सूचना प्रविधि क्षेत्रमा आवद्ध सय बढी सरोकारवालाहरुको सहभागी रहेको समिनारमा नेपाल बैंकका डाइरेक्टर तथा क्यान महासंघ केन्द्रीय पूर्व महासविच विवेक सम्शेर जवराले साइबर सुरक्षा, कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख कोष नियन्त्रक शशिन्द्र खातीले क्षतिपूर्तिसहितको अनलाइन सेवा र क्यान लुम्बिनीका पूर्व महासचिव श्रीधर बस्यालले सुशासन र समृद्धिको विषयमा प्रस्तुती राखेका थिए । कार्यक्रममा सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो बनाइनुपर्नेमा जोड दिइएको थियो ।

क्यान महासंघले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम गर्दै आएको क्यान लुम्बिनी प्रदेशका पूर्व सहसचिव भोजराज भट्टराईले जानकारी दिए । क्यानले विद्यालयमा आइसीटी क्लव गठन, रक्तदान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने समेत उनले बताए । क्यान महासंघ लुम्बिनी प्रदेशको आयोजना र पाल्पा शाखाको संयोजनमा भएको ‘सुशासन र समृद्धिका लागि सूचना प्रविधि र साइबर सुरक्षा’ विषयक सेमिनार क्यान पाल्पाका सचिव सुदिप पौडेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update