Shittalpati
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस्

नक्कली शरणार्थी प्रकरणको विषयले यतिबेला मुलुक तातेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा हाइ प्रोफाइलका व्यक्तिहरु पक्राउ परेपछि त्यो सर्वत्र चासोको विषय बनेको हो । सो प्रकरणमा पूर्वउपप्रधानमन्त्रीदेखि सांसद, मन्त्रीका सल्लाहकार, बहालवाला सचिव पक्राउ परेपछि तरंग उत्पन्न भएको छ । वर्षौंदेखि अनुसन्धानमा रहेको नक्कली भुटानी शरणार्थी काण्डको नालीबेली बाहिर आएपछि यसले देशभर चर्चा पाएको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी काण्डमा संलग्न भएको प्रमाण भेटेपछि बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । प्रहरीले रामबहादुर थापाका छोरा प्रतिक थापा, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीको यो सक्रियता आफैंमा सकारात्मक छ। तर ठूला नेताहरु पक्राउ पर्न थालेपछि शीर्षस्थ नेताहरु नै अनुसन्धानलाई प्रभावित पार्न अग्रसर भएको देखिन्छ । जुन खेदजनक छ । सरकार, प्रहरी प्रशासनले यस क्रममा आइपर्ने जुनसुकै दवाबलाई पनि झेली यस प्रकरणउपर यथोचित अनुसन्धान गरी सम्पूर्ण दोषीलाई कारवाहीको दायारामा ल्याउनु अपरिहार्य छ । दोषी कोही पनि उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन । सरकारले चालेको यो कदमलाई सबैले साथ दिनुपर्छ । यो कदमले अन्य भ्रष्टचारमा संलग्न भएकाहरुलाई समेत निरुत्साहित हुन बल पुग्ने छ । देश र जनताप्रति अपराध गर्नेमाथि कारवाही भयो भने बल्ल सरकारको कामको प्रशंसा हुनेछ । सरकारप्रति जनविश्वास बढ्नेछ । प्रहरीको कुशल अनुसन्धानले सार्थकता पाउनेछ । यसको लागि प्रहरी र छानविन गर्ने निकायमाथि कुनै पनि आरोप नलागोस् । यसो भए मात्र राज्यको पूर्ण उपस्थिति रहेको विश्वास हुनेछ । अनुसन्धान भनेको वास्तविकताको पहिचान गर्ने प्रक्रिया हो । तसर्थ नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरु माथि छिटो भन्दा छिटो प्रभावकारी अनुसन्धान होस् ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update