रुपन्देही, प्रदेश पाँच सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पु¥याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको छ । पूर्वपश्चिम राजमार्गमा काठमाडौंं, धादिङ, चितवन लगायत जिल्लाबाट आउने मजदुर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापनको काम थालेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । प्रदेशका नाकामा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर स्वास्थ्य जाँँच गर्ने र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने प्रेस सल्लाहकार केसीले बताए । सोका लागि प्रदेश पाँच सरकारले प्रदेशका १०९ वटै स्थानीय तहलाई १० लाखदेखि २५ लाखसम्म विशेष अनुदान दिएको छ । प्रदेश ५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आएकाहरुलाई रोकेर त्यहीँका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
बर्दघाटमा एक सय जना अट्ने अस्थायी क्वारेन्टाइन बनाइएको छ । संख्या बढ्दै गएमा राजमार्गमा पर्ने बर्दघाटभन्दा पश्चिमका स्थानीय तहमा व्यवस्थापन गरिने छ । मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनानुसार सुरक्षा निकाय र स्थानीय तहले प्रदेशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई व्यवस्थापन गर्ने काम शुरु गरेका हुन् । प्रदेश सरकारले यो काम थालेसँगै पूर्वपश्चिम राजमार्गमा पैदलै हिँड्नेहरुको संख्या कम भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री पोखरेलले निरन्तर राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नागरिक समाजका अगुवा तथा स्थानीय तहका प्रमुखसँग भिडियो संवाद समेत गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा मुख्यमन्त्री पोखरेलले शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिससका प्रमुख जीतेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का, नागरिक समाजका संयोजक चन्द्रराज पन्त लगायतसँग अहिलेसम्म भएका कामबारे छलफल गरेका थिए ।
छलफलमा मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सक सहितका स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ उपचारमा सघाउ गर्न उनीहरुलाई आग्रह गरेका छन् । उनले स्थानीय श्रमलाई प्रयोग गरेर गरिने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोकी अघि बढाउन पनि निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।उनले अहिले हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रदेश भित्र आइपुगेका सबैलाई प्रहरीको सहयोग लिएर नजिकैको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका छन् ।
कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदुर बढी समस्यामा छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आ–आफ्ना घरतर्फ लागेका छन् । संघीय सरकारले एक पालिकाबाट अर्को पालिका जान समेत रोक लगाएको समयमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापन गर्ने काम थालेको हो । प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेशन अस्पताल समेत निर्माण गरेको छ ।


