Shittalpati
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग

गुल्मी, उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।

मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेलाई एक कार्यक्रमकाबिच ध्यानाकर्षण पत्र बुुझाएका हुन् । उपभोक्ताको हित, वस्तु र सेवाको स्वच्छता, गुणस्तरीयताको सहजता हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको हो । उपभोक्ता र सेवाग्राहीले सहज र शुलभ तरीकाले सेवा पाउन भन्ने उद्देश्यले अस्पतालमा विभिन्न विषयमा ध्यानाकर्षण गरिएको संस्थाका अध्यक्ष केशरबहादुर थापाले बताए । उपचारका लागि भर्ना भएका विरामीले पाउदै आएको खाना–खाजा गुणस्तरीय, स्वस्थ्य र सफा हुनुपर्ने, कम्पाउण्ड, विरामी कक्षहरु र शौचालय र पानीका धाराहरु स्वस्थ्य र मैलाको अविलम्व व्यवस्थापन गर्नु पर्नेमा ध्यानाकर्षण गराइएको छ । त्यस्तै ओपिडी, इमेजेन्सी र ल्याब सेवा सहज, शुलभ र छिटो छरिता बनाउनु पर्ने, स्टार भवनलाई पार्टेशन गरी प्रयोगमा ल्याउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । अस्पतालको खोला साइडमा तारजाली वा पर्खालले परिसर घेर्ने, सर्भर र इकोरुमको एरिया फराकिलो बनाउन माग राखिएको छ ।

त्यस्तै चौविसै घण्टा गुणस्तरीय पानी र विद्युत आपूर्तिको लागि भरपर्दो व्यवस्था मिलाउनुु पर्ने, प्रसुती कक्ष सफा र उछारिलो बनाउने, जेष्ठ नागरिक, अपाङगता, गर्भवती महिलालाई दिने सेवा थप सहज बनाउनु पर्ने माग गरेका छन् । ब्रेस्ट फिडिङ कक्षलाई व्यवस्थित गर्ने, डायलासिस सेवाको व्यवस्था यथा शिघ्र शुरु गर्नु पर्ने, उपभोक्ता र स्टाफका लागि चिसो तातो र सफा पानीका लागि फिल्टरको व्यवस्था मिलाउनु पर्ने जस्ता माग राखिएको छ । अस्पतालले दिदै आएको सेवा विगतको तुलनामा धेरै सुुधार भएको उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले अस्पताल सुधारका लागि दिइएको सुझाव मनन गरेर अगाडि बढने बताए ।   –अनिल खत्रीबाट

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update