Shittalpati
बुद्धको उपदेश अनुसरण गरौं

बुद्धजयन्ती भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाइन्छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको २५६७ औं जयन्तीमा शान्तिको कामना गरिदैछ । शान्तिका अग्रदूधका रुपमा चिनिएका गौतम बुद्धको जयन्ती मनाउनु आफैमा सकरात्मक हो । तर उनको उपदेश वा सन्देशको अनुसरण गरियो कि गरिएन त्यो महत्वपूूर्ण हो । बुद्धले संसारलाई शान्तिको मार्गमा हिँड्न प्रेरित गर्दै जीवन र मरणको भवसागरबाट मुक्त हुने मार्ग देखाएका थिए । यो मार्ग विश्वका लागि अनुकरणीय छ । बुद्धका उपदेशमा अहिंसा, मित्रता र विश्व वन्धुत्वको सन्देश छ ।

लोभ, तृष्णा, मोह, रिस, राग, स्वार्थ नै दुःखका मूल कारण भएकाले त्यसको त्याग गर्नु नै सुख, शान्ति र आनन्दतर्फ अग्रसर हुनु हो । बुद्धका पञ्चशील शिक्षाको पालनाले जीवनलाई सहज बनाउँछ, दुःख अन्त्य गर्छ र निर्वाण प्राप्त हुन्छ । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि हो । हरेक वर्ष बुद्ध जयन्ती मनाइने गरिए पनि बुद्धको यी उपदेशलाई भने कोही कसैले पनि अनुसरण गरेको पाइदैन । यो अत्यन्त दुखको कुरा हो । बुद्धको उपदेशको अनुसरण नभएकै कारण मुलुकमा सधै अशान्ति, राजनीतिक अस्थितरता सिर्जना हुनेको गरेको छ । आज नेपालीले नेपाल बुद्ध जन्मिएको शान्तिभूमि हो भनेर गर्व गर्ने कुनै ठाउँ छैन । अहिले यहाँ हत्या, हिंसा, अराजकता, स–साना कुरामा पनि बन्द र हड्ताल गर्ने प्रवृत्तिको विकास, अपहरण आदि दिनहँु देख्न पाइन्छन् । यसतर्फ कुनै राजनीतिक दल वा सरकारका प्रमुख व्यक्तित्व नै जिम्मेवार देखिदैनन् । यस्तो हुनु विडम्बना हो । बुद्धको उपदेशलाई अनुसरण गर्दै उनले दर्शाएको पथमा हिँड्ने हो भने यस्ता कुराहरु हुँदैन्थे । यसर्थ रिस, राग, द्वेष र ईष्याले कलह र द्वन्दबाट देश र जनतलाई मुक्त राख्न बुद्धको उपदेश पहिल्याउनु अहिलेको आवश्यकता हो । यसतर्फ सबैको ध्यान जाओस् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update