Shittalpati
नेपालीको बढ्यो प्रतिव्यक्ति आय

पाल्पा, नेपालीको प्रतिव्यक्ति आय बढेको छ । प्रतिव्यक्ति आय बढेर वार्षिक एक हजार तीन सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार छ सय ८३ पुगेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याड्ढ सम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको छ ।

गत वर्ष नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रहेको थियो । यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव १३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड बराबर पुग्ने अनुमान गरिएको छ । जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५ दशमलव २१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड बराबर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३ दशमलव ५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यो ५० खर्ब ३६ अर्ब १५ करोड बराबर हो । जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा सात दशमलव १५ प्रतिशत बराबर छ । यसवर्ष तीन खर्ब ८५ अर्ब ११ करोड बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ । जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६ दशमलव पाँच प्रतिशत बराबर छ । नेपालले यस वर्ष १९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update