Shittalpati
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन

पाल्पा, भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा यथावत् राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा, मट्टितेल ३ रुपैयाँ ४८ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटाएर पठाए पनि नेपाल आयल निगमले भने यथावत् राखेको हो ।

हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १ सय ७५ तथा डिजेल १ सय ६५ रुपैयाँमा निगमले बिक्री गर्दै आएको छ । ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पर्छ । यसअघि अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको थियो । अघिल्लो पटक बढेर आउँदा पेट्रोल र डिजेलमा मूल्य समायोजन नभएकाले यसपटक घटेर आए पनि मूल्य यथावत राख्ने निगमले जनाएको छ । त्यस्तै, ग्यासको हकमा मूल्य घटेर आए पनि प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानीमै रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजार हेर्दा ग्यासमा केही घट्ने सम्भावना देखिएको छ । अब ग्यासमा पनि छिटै स्वचालित प्रणाली लागू हुने जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रममा रहेकाले छिट्टै नोक्सान घट्ने निगमको अनुमान छ । अहिले प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानी रहेकाले ग्यासमा स्वचालित लागू गर्दा उपभोक्ता मूल्य थप बढ्न सक्ने बताइएको छ । निगमले २०७१ असोजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित प्रणाली लागू गरेको थियो । हवाई इन्धनको मूल्य भने निमग नियन्त्रित छ । ग्यासमा निगम घाटामा गएपछि स्वचालित मूल्य लागू गर्न खोजेको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update