Shittalpati
क्रिकेट खेलमा सफलता

मंगलबार भएको एसीसी प्रिमियर लिगको उपाधि नेपालले जितेसँगै खुसीयाली छाएको छ । यो जितले नेपाली क्रिकेट जगतमा अर्को इतिहास रचेको छ । एसियाली क्रिकेट काउन्सिलका ठूलामध्येको एक प्रतियोगितामा विजयी भएर नेपालले आफ्नो प्रतिभा र प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ । नेपालका लागि यो एउटा ऐतिहासिक सफलता हो ।

यस कारण पनि नेपालीमा खुसीयाली छाउनु स्वाभाविक नै हो । फाइनल खेलमा नेपालले यूएईलाई सात विकेटले सानदार तरिकाले जित्यो । यो जितसँगै नेपाल एसिया कपमा छनोट भएको छ । आगामी सेप्टेम्बरमा हुने एसियाली क्रिकेटकै सबैभन्दा ठूलो उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ छिमेकी देश भारत र पाकिस्तान छन् । नेपालले अहिलेसम्म विश्व क्रिकेटका यी ठूला देशका राष्ट्रिय टिमविरुद्ध खेल्न नपाइरहेको सन्दर्भमा उक्त सपना र प्रतीक्षा पनि अब पूरा हुने भएको छ । यस अर्थमा पनि एसियाली क्रिकेट नेपालका लागि सुनौलो मौका मात्र होइन नेपाल र नेपालीको शानलाई थप उचाईमा पु¥याइदिएको छ । जुन ल्याकत नेपाली टोलीमा देखिएको छ, त्यो प्रशंसनीय मात्रै होइन, आशाप्रद पनि छ । खेलाडीले जित्दा सरकारले बेला बेलामा पुरस्कारको व्यवस्था पनि गर्दै आइरहेको छ । तर अब त्यत्तिले मात्र हुँदैन । क्रिकेटमार्फत खेलाडीहरुले नेपाललाई विश्वमा चिनाइरहेका छन् । यसमा सरकारले खेल क्षेत्रमा दीर्घकालीन लगानी गर्न सक्नुपर्छ । तर अहिलेसम्म सरकारले खेल क्षेत्रमा पर्याप्त लगानी गर्न सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो ।

पूर्वाधारविना पनि खेलाडीहरुले गरेको मेहनतलाई भने सबैले उच्च प्रशंसा गरेका छन् । अभावै अभावको बीचमा पनि खेलाडीहरुले नेपालको शिर उच्च राख्ने काम गर्नु राष्ट्रकै लागि गौरवको विषय बनेको छ । राज्यले नेपाली क्रिकेटरमा लगानी गर्ने हो भने एसिया कप मात्र होइन विश्व कप नै खेल्न सक्ने ल्याकत राख्छन् भन्ने कुरालाई राज्यले मनन् गरी क्रिकेट क्षेत्रमा लगानी बढाउने हो भने खेलको माध्यमबाट विश्वमा नेपाल चिनिन धेरै समय लाग्दैन । यसर्थ यसतर्फ राज्य सञ्चालकहरुको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update