Shittalpati
श्रमिकको सम्मान गरौं

आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा हरेक वर्षको मे १ मा यो दिवस मनाउन थालिएको हो ।

अमेरिकाको सिकागोबाट मनाउन सुरु गरिएको यो दिवस नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मनाउन थालिएको पाइन्छ । विश्वका श्रमिकहरुको यो महान् चाड हो । विश्व मजदुर आन्दोलनले विश्वमा ठूलो उपलब्धि हासिल गरेको छ । मजदुर अधिकारको क्षेत्रमा निकै क्रान्ति आएको छ । तर अझै पनि नेपाललगायत कतिपय देशमा मजदुरको अवस्था नाजुक छ । यो अत्यन्त दुखको कुरा हो । नीतिगत रुपमा केही राम्रो देखिए पनि कार्यान्वयन तहमा मजदुरहरु चर्को शोषणमा बाच्न बाध्य छन् । नेपालको संविधान अनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर हुन् । श्रमिकहरू राष्ट्र निर्माणका धरोहर हुन् । देशको आर्थिक विकासका मेरुदण्ड हुन् । तर तिनै श्रमिकको राजनीतिक दल र सरकारी तवरबाटै अपमान गरिएको छ । कारखानामा काम गर्ने मजदुर हुन् वा चिया बगानमा काम गर्ने मजदुर हुन् वा विदेशको भूमिमा रगत र पसिना बगाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउने मजदुर हुन् अथवा सत्य तथ्य घटना उजागर गरी समाज परिवर्तनलाई गति दिने श्रमजीवी पत्रकार हुन् वा सार्वजनिक प्रशासन सञ्चालन गर्ने कर्मचारीतन्त्र नै किन नहुन् सबैको योगदान मजदुर आन्दोलनको रूपमा अतुलनीय छ भन्ने कुरामा नेपालको राजनीतिको बागडोर सम्हालेका नेतृत्वगणले बुझ्न आवश्यक छ ।

वास्तविक श्रमिकको अवस्था आज पनि दयनीय छ । सडकमा दिनभर खाली खुट्टामा भारी बोक्ने भरियाको जीवनस्तर ,होटेल र रेष्टुराहरुमा भाडा सफा गरेर जीविकोपार्जन गरिरहेका श्रमिकको जीवन र चिया बगानमा काम गर्ने मजदुरको अवस्था उस्तै दयनीय छ । देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने वर्ग जो मुलुकमा पर्याप्त रोजगारीका अवसर नहुँदा खाडी मुलुकमा कष्टपूर्ण, अपहेलित र असुरक्षित काम गर्न बाध्य छ, त्यसले श्रमिक दिवसबाट केही पाउन सकिरहेको छैन । समाज र राष्ट्रको अग्रगामी परिवर्तनको लागि विभिन्न असुरक्षाका बाबजुद कलम चलाउने श्रमजीवी पत्रकारले आज पनि विज्ञापन र शुभकामनाबाट उठेको धेर थोर रकमले जीवन धान्न बाध्य छन् । यसर्थ यो दिवसले श्रमिकले श्रम गर्दा अनुकूल श्रम वातावरण, भेदभाव रहित कार्य व्यवहार एवम् पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सुनिश्चित हुन सक्ने अवस्था सिर्जना गरोस् । सबै प्रकारका श्रमिकहरूलाई दिवसको शुभकामना ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update