Shittalpati
१३ औं पाल्पा महोत्सव जारी, दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै

रामचन्द्र रायमाझी
पाल्पा, १३ औं पाल्पा महोत्सवमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । वैशाख १४ गतेदेखि सुरु भएको महोत्सवमा २२ हजार बढी दर्शकले अवलोकन गरिसेका छन् । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको तेस्रो दिन शनिबार परेकोले पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रह्यो । शनिबार मात्र १३ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव प्रचार–प्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । उनले महोत्सवको तेस्रो दिन विदा परेकोले दर्शकको संख्या बढेको बताए । संयोजक घिमिरेका अनुसार तेस्रो दिन मात्र करिब एक करोडको कारोबार भएको छ । अहिलेसम्म करिब २ करोड २० लाखको कारोबार भएको उनले बताए । महोत्सवमा दिनहुँ उत्साह छाउँदै गएको छ । पहिलो दिन १ हजार २ सय बढी र दोस्रो दिन ८ हजार दर्शकले मेला अवलोकन गरे पनि तेस्रो दिन भने महोत्सवस्थल खचाखच रहेको हो । महोत्सवको पहिलो दिन ४० लाख र दोस्रो दिन ८० लाखको कारोबार भएको थियो । मेला हेर्न गाउँ–गाउँबाट दर्शकहरु तानसेन आएका छन् ।

कलाकारले ताने दर्शक

हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई आकर्षक बनाएको छ । अन्य समयमा भन्दा सांस्कृतिक कार्यक्रमको समयमा भने दर्शकको संख्या उल्लेख्य देखिन्छ । बजारबाट नजिकै रहेकाले कार्यालय समय सकिएपछि साँझतिर महोत्सव स्थलमा दर्शकको भीड बढ्दै जाने गरेको छ । शनिबार चर्चित गायक शिव परियारले पछिल्लो समय चर्चामा रहेको ‘धोकेबाज हौ तिमी’बोलको गीत प्रस्तुत गर्दा दर्शकको तालिले मञ्चमा रौनकता थपिएको थियो । उनले ‘फेवातालमा साइँली’, ‘क्या दामी भो’ लगायतका गीतहरु गाएर दर्शकलाई नचाएका थिए । शिवसँगै गायक दिपु मगर, रूपेश कार्की, शकुन्तला गैरे, विष्णु पन्त, शितल शर्मा लगायतका कलाकारहरुले समेत प्रस्तुति राखेका थिए । शुक्रबार चर्चित लोक गायक राजु परियारले ‘आमा तिम्रो दुधको भारा तिर्न सकिन’ बोलको गीत गाएर धेरैलाई भावुक बनाएका थिए । त्यसपछि ‘सुन पानीले छर्क मायालु’ लगायतका गीतहरु प्रस्तुत गरेका उनले गायिका सपना गाहासँग केही समय दोहोरी समेत गाए । हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले पनि दर्शकहरुलाई पेट मिचिमिच हसाए । पुर्खे बाले दर्शकलाई विभिन्न उखान टुक्कासँगै देशको वर्तमान अवस्थाको व्यङ्य पनि गरे । गायक मोहन खड्का, गायिका दुर्गा नेपाल, सपना गाहा,केशव भण्डारी, करन चित्रकार लगायतले प्रस्तुति राखेका थिए । महोत्सवको पहिलो दिन बिहीबार लोकगायक बसन्त लम्साल, अनु राना, कमल भट्टराई, यशोदा कार्की लगायतको प्रस्तुति रहेको थियो । आज आइतवार चर्चित रोइला गायक शिरीष देवकोटा कालिका रोका मगर, सीमा सारु र शित्तल शर्मा लगायतको प्रस्तुति रहने जनाइएको छ ।

स्टलहरुमा पनि भिड
मेलामा ३ सय स्टल रहेका छन् । जहाँ जिल्लामा उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरण घरेलु उत्पादनका साथसाथै स्थानीय उत्पादनका स्टल राखिएको छ । स्टल स्थलमा पनि सामन किन्न आउनेहरुको उत्तिकै भिड देख्न सकिन्छ । महोत्सवको तेस्रो दिन सामान किन्ने, प्रदर्शनमा राखिएका ऐतिहासिक वस्तुहरुको फोटो खिच्नेहरुको भिड लागेको थियो ।

मेलामा पाल्पाली करुवा, रानीमहलको स्वरुप भित्र सचिवालय निर्माण गरिएको छ । जुन आकर्षणको रुपमा रहेको छ  । पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षणमा महोत्सवले टेवा पुर्‍याउनेमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले विश्वास व्यक्त गरे । महोत्सव अवधिभर पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्री राखिएको छ । मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको संयोजक भट्टराईले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update